इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका–५ कालाबन्जरमा सञ्चालित सुनौलो प्लाइउड उद्योग प्रालिले भेनियर उत्पादनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आएको छ । उद्योगले दैनिक ८० हजारदेखि १ लाख स्क्वायर फिटसम्म भेनियर उत्पादन गर्दै आएको छ ।

जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा स्थापना भएको उद्योग २०८१ माघ ७ गते दर्ता भएको थियो । प्लाइउड उद्योगका लागि आवश्यक भेनियर उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको उद्योगले २०८२ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगका व्यवस्थापन तथा लेखा प्रमुख दीपक राना मगरले बताए । करिब डेढ करोड रुपैयाँ लगानीमा ७२ कट्ठा जग्गा लिजमा लिएर सञ्चालनमा आएको उद्योगमा अहिले ६० देखि ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । मगरका अनुसार उत्पादन सुरु गर्दा दक्ष प्राविधिक जनशक्तिको अभाव भएपछि भारतबाट प्राविधिक ल्याएर मेसिन सञ्चालन गर्नुपरेको थियो । अहिले भने नेपाली श्रमिकले पनि मेसिन सञ्चालनलगायतका काम सिक्दै गएका छन् ।

उद्योगमा अधिकांश श्रमिक महिला छन् । स्थानीयस्तरमा पुरुष श्रमिक पाउन कठिनाइ भएपछि महिलाको संख्या बढी रहेको मगरले बताए । श्रमिकले काठका पाता बोक्ने, टिप्ने, सुकाउने, गाडीमा सामान लोड गर्ने, कैँची चलाउने तथा मेसिन सञ्चालनलगायतका काम गर्दै आएका छन् । उद्योग स्थापनादेखि नै कार्यरत वराहक्षेत्र–५ पुलाहाकी बबिता बस्नेतका लागि उद्योग रोजगारीसँगै परिवारको आर्थिक आवश्यकता पूरा गर्ने आधार बनेको छ । उद्योगमा प्रतिघण्टा ५५ रुपैयाँका दरले पारिश्रमिक पाइन्छ । आफूले कमाएको रकमले घरपरिवारको दैनिक खर्च तथा बालबालिकाको खाजा खर्च जुटाउन सहयोग पुगेको बस्नेतले बताइन् । उद्योगले भेनियर उत्पादनका लागि मुख्यतः उत्तिस, कटुस र चिलाउने जातका गोलिया काठ प्रयोग गर्दै आएको छ । आवश्यक काठमध्ये अधिकांश तेह्रथुमबाट ल्याइने गरेको छ भने खोटाङ, भोजपुरलगायत पहाडी जिल्लाबाट पनि काठ ल्याउने गरिएको मगरले बताए ।

गोलिया काठलाई मेसिनमार्फत पातलो तहमा काटेर भेनियर तयार गरिन्छ । तयार भेनियर इटहरी, इनरुवा, झापा, नेपालगन्ज र कोहलपुरलगायतका प्लाइउड उद्योगमा बिक्री हुँदै आएको छ । साथै भारतको उत्तर प्रदेश, राजस्थान र सिलिगुडीसम्म पनि भेनियर पठाउने गरिएको मगरले बताए । उद्योगले हाल वार्षिक करिब ५ करोड रुपैयाँको कारोबार गर्दै आएको छ । भेनियर उत्पादनका क्रममा निस्कने काठका टुक्रा तथा अन्य खेर जाने सामग्रीसमेत बिक्री गर्ने गरिएको उद्योगले जनाएको छ । ठूला दाउरा एक ट्रकको ५ हजार रुपैयाँदेखि बिक्री हुने गरेको छ भने साना काठका टुक्रा प्रतिकिलो ३ देखि ५ रुपैयाँसम्ममा बिक्री हुने गरेको उद्योगले जनाएको छ ।