इटहरी। भोटेकोशी क्षेत्रमा भएको विपद्का कारण घाइते तथा उपचाररत बिरामीका लागि मधेस युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ६० पाउण्डभन्दा बढी रगत सङ्कलन भएको आयोजक संस्थाका उत्तम कार्कीले जानकारी दिए । विपद्का समयमा घाइते तथा बिरामीका लागि आवश्यक रगतको अभाव हुन नदिन सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको कार्कीले बताए । कार्यक्रममा युवालगायत विभिन्न क्षेत्रका व्यक्तिले उत्साहपूर्वक रक्तदान गरेका थिए ।

‘रक्तदान जीवनदान’ भन्ने भावनासहित आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो । कार्कीका अनुसार विपद्का बेला मानवीय सेवामा युवाको सहभागिता बढाउनुका साथै आवश्यक परेको अवस्थामा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।