इटहरी। लाखेजात्रा पर्वको अवसरमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको टिकट बिक्रीबाट सवा ३८ लाख रुपियाँ बढी रकम सङ्कलन भएको छ । खेल हेर्ने दर्शकलाई टिकट बिक्री गरेर आयोजकले उक्त रकम सङ्कलन गरेको हो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार यसवर्ष गोल्डकपको टिकट बिक्री गरेर कुल ३८ लाख २९ हजार ९०० रुपियाँ रकम सङ्कलन भएको छ । उक्त रकम खेल हेर्न मैदान प्रवेश शुल्कको टिकट बिक्रीबाट सङ्कलन भएको कोषाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार प्रतियोगिताको क्वार्टरफाइनलका चार खेलबाट ११ लाख ९१ हजार २०० रुपियाँ सङ्कलन भएको छ । त्यस्तै, सेमिफाइनलमा दुई खेलबाट छ लाख पाँच हजार ७०० रुपियाँ र फाइनलमा टिकट बिक्रीबाट २० लाख ३३ हजार रुपियाँ सङ्कलन भएको उहाँले बताउनुभयो । आयोजकले यसवर्ष टिकट दर क्वार्टरफाइनलमा २०० रुपियाँ, सेमिफाइनलमा ३०० र फाइनलका लागि ५०० रुपियाँ निर्धारण गरेको थियो ।
आयोजकले पुरा खेल हेर्नलाई न्युनतम् तीन हजार रुपियाँको छुट्टै प्याकेज टिकट पनि बिक्री गरेको थियो । प्याकेज टिकटबाट सङ्कलन भएको रकमको हिसाब भने आउन बाँकी रहेको समितिका कोषाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । यसवर्ष विजेतालाई सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेतालाई तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो । यस्तै विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । प्रतियोगिता भदौ १२ गते सुरु भएर भदौं १९ गते सम्पन्न भएको थियो । ताप्लेजुङ गोल्डकप पूर्वी पहाडका जिल्लामा सबैभन्दा बढी दर्शकले हेर्न फुटबल प्रतियोगिताको रुपमा रहेको लिने गरिएको छ ।


