इटहरी । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलाको गञ्जेडाँडाका ४५ वर्षीय टोइबहादुर कटुवालको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई अदालतको आदेशपछि पूर्पक्षका लागि कारागार तथा बाल सुधार गृह पठाइएको छ । 

जिल्ला अदालत सोलुखुम्बुको आदेश बमोजिम मुख्य प्रतिवादी सोलुदुधकुण्ड–११ राम्पाका २१ वर्षीय विनोद खड्कालाई कारागार कार्यालय सल्लेरी र घटनामा संलग्न अन्य दुई बालकलाई बालसुधार गृह विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभयो । गत साउन २३ गते बिहान कटुवाल आफ्नै कोठाभित्र मृत अवस्थामा फेला पर्नुभएको थियो । घटनाको प्रकृति शङ्कास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकीको कमाण्डमा खटिएको विशेष टोलीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका खड्काले साउन २२ गते बेलुकी मृतकसँगै मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा चक्कु प्रहार गरी घाँटी रेटेर कटुवालको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।