इटहरी । किरात राई यायोक्खा झापाको ९औँ जिल्ला अधिवेशन बिर्तामोडमा सुरु भएको छ। दुई दिनसम्म चल्ने अधिवेशनले जिल्ला समितिको नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाको आगामी कार्यदिशासमेत तय गर्ने भएको छ।

अधिवेशन उद्घाटनका क्रममा अग्रज पत्रकार दिपिन राई र चिकित्सक डा। सोफिया थुलुङ राई सम्मानित भएका छन्। किरात राई समुदायको भाषा, संस्कृति र सामाजिक विषयलाई पत्रकारितामार्फत उजागर गर्दै संस्थामा योगदान पुर्‍याएको भन्दै पत्रकार राईलाई तथा किरात समुदायबाट चिकित्सकको गरिमामय क्षेत्रमा पुग्न सफल भएको भन्दै डा। सोफियालाई सम्मान गरिएको हो। यसैगरी झापाका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा अधिकृत तहमा कार्यरत आठ जना राई समुदायका कर्मचारीलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ। सम्मानित हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई, अर्जुनधारा नगरपालिकाका पशु शाखा प्रमुख पदमलाल राई, कनकाई नगरपालिकाकी योजना शाखा प्रमुख मनिता राई, मेची यातायात व्यवस्था कार्यालयकी लेखा अधिकृत तीर्थमाया राई र कृषि विकास बैंक गौरादह शाखा प्रमुख विकास राई छन्।

त्यस्तै काँकरभिट्टा भन्सार कार्यालयका प्रमुख महङकल राई, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालय बिर्तामोडका प्रमुख राजबहादुर राई र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख निशान राईलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ। सम्मानित तथा प्रशंसित व्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हताचो राई र यायोक्खा झापाका अध्यक्ष गणेशबहादुर राईले सम्मान तथा प्रशंसापत्र प्रदान गरेका थिए। कार्यक्रममा अध्यक्ष गणेशबहादुर राईले यायोक्खाका विभिन्न समितिले उभौली र उधौलीजस्ता सांस्कृतिक पर्वलाई निरन्तरता दिँदै समुदायबीच भाइचारा, सामाजिक एकता र सद्भाव कायम गर्न योगदान पुर्‍याउँदै आएको बताए।

यायोक्खा झापाका अध्यक्ष गणेशबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लीलाबहादुर राईले स्वागत गरेका थिए। कार्यक्रममा केन्द्रीय अध्यक्ष जीवन हताचो राई, कोशी प्रदेश यायोक्खाका अध्यक्ष पारस राई, राजनीतिक दलका तर्फबाट मणिकुमार साम्पाङ राई ‘विजय’, सल्लाहकारका तर्फबाट दिलीप राई, नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष प्रेम घिसिङ तथा किरात याक्थुङ चुम्लुङका अध्यक्ष सेसेहाङ पियाकले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन यायोक्खा झापाका सचिव गौरीमान राईले गरेका थिए। राई जातिको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै नयाँ पुस्तालाई संस्थामा जोड्दै आएको यायोक्खा झापाको अधिवेशनले आगामी नेतृत्व चयनलाई समेत महत्त्वका साथ लिएको छ। यायोक्खाका सचिव गौरीमान राईका अनुसार नेपालमा बोलिने २६ भाषी राई समुदायमध्ये अधिकांश भाषी राई झापामा बसोबास गर्छन्। राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार झापामा राई समुदायको जनसंख्या करिब ६० हजार रहेको उनले बताए। यायोक्खाका अनुसार झापाका १५ वटै स्थानीय तहअन्तर्गत विभिन्न ३७ स्थानमा प्रारम्भिक समिति तथा संयुक्त वडा समिति गठन भएका छन्।

शनिबार र आइतबार बिर्तामोडमा हुने अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्नुका साथै राई समुदायको भाषा, संस्कृति, पहिचान र सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने आगामी कार्ययोजना तय गर्नेछ।