इटहरी। सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि बारीभरी साना साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरी खाने खेती जोगाउनु कृषकहरुको बाध्यता बनेको छ । मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरुमा भालुले मकै स्वाहा पार्न थालेपछि कृषकहरुले रातभर बारीमा टिन बजाएर जागै बस्नु परेको हो । 

भालुले रातभरी मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो निर्माण गरी आगो बालेर भालु लखेट्न थालेको तामाखानीका कृषक कृष्णबहादुर मगरले बताउनुभयो । भालु खेद्न रातभर बारीमानै बस्नुपर्छ, एकछिन निदायो भने मकै सबै भालुले खाइदिन्छ, उहाँले भन्नुभयो । रातभरी भालु धपाउन बारीमा बसेपछि विद्यालयमा आएका विद्यार्थी पनि निदाउने, शिक्षकले दिएको गृहकार्य नगर्ने गरेको पिके माध्यामिक विद्यालयका शिक्षक माधव धमलाले बताउनुभयो । जिल्लाका सल्लेरी, तामाखानी, बेनी, टाक्सिन्दुलगायतका विभिन्न भागमा भालुको आतङ्कले स्थानीयको जनजीवन समेत त्रसित बनेको छ । बर्सेनि भालुको आक्रमणबाट कृषकहरु सख्त घाइते तथा केहीको मृत्यू भएका घटनाले समेत उनीहरु त्रसित बनेका हुन् । बेनीको फेरा आसपासका हरेक किसानले बारीमा छाप्रो बनाई टिन ठटाएर भालु लखेट्न थालेका छन् । 

हामीले सुत्न पाएका छैनौं, रातभर भालुको ड्यूटी गर्दा ठीक हुन्छ, फेरी कतिबेला आएर खाइहाल्छ’ फेराका कृषक फुर्वा शेर्पाले गुनासो गर्नुभयो । भालु मार्दा कानुन लाग्छ भन्छन् नमार्दा यसले त बर्षभरीका कमाई भुसुक्कै पार्ने भो रोशीका कृषक चक्र बहादुर बस्नेतले भन्नुभयो ।ुु भालुको आतङ्क बढेपछि राती घरबाहिर निस्कन समेत डर लाग्ने स्थानीय बताउँछन् । तामाखानी क्षेत्रमा मात्र पाँचवटा भन्दा बढी भालु रहेको उनीहरुको भनाइ छ । भालु एउटैले बारीमा पस्न पायो भने सबै मकै खाने र माड्ने गरेर स्वाहा पार्ने गर्दछ । जिल्लाका रिङमु, फेरा र जुनबेशीलगायतका क्षेत्रमा पनि भालुले सताएको कृषकहरुको गुनासो छ । यता जिल्ला प्रशासन तथा जिल्ला वन कार्यालयले भने कुनै पनि जङ्गली जनवारलाई मार्न वा क्षति पु¥याउन नपाइने बताउँदै आएका छन् । अन्य वैकल्पिक उपायहरु अपनाएरनै बालीको संरक्षण गर्नुपर्ने र बाली नष्ट गरेबापत कुनै क्षतिपूर्ति दिने प्रावधान समेत नभएको जिल्ला वन कार्यालयले जनाएको छ । मानिसलाई नै क्षति पु¥याएमा भने सगरमाथा राष्ट्रिय निकुञ्जले प्रमाणित गरे बमोजिम घाइतेलाई ५० हजार र मृत्यु भएमा डेढ लाखसम्म क्षतिपूर्ति दिन सकिने कानुनी व्यवस्था रहेको छ ।

वडा कार्यालयमा भालुलगायत जङ्गली जनावर नियन्त्रण गरिपाउँ भन्ने निबेदनको आउने गरेको सोलुदूधकुण्ड नगरपालिका–३ का दर्जनौँ निवेदन दर्ता भएको वडा अध्यक्ष लाक्पागेलु शेर्पाले बताउनुुभयो ।