इटहरी स् मोरङको उर्लाबारीबाट प्रहरीले ब्राउन सुगर ९खैरो हेरोइन०सहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–२ बल्लु चोकका ३१ वर्षीय सुकराज दर्जी र २२ वर्षीय सुदीप धिमाल रहेका छन्।

प्रहरीका अनुसार दर्जीको घरमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले आइतबार घरमा छापा हानेको थियो। कोठा खानतलासी गर्दा सिरानीमुनि १९ वटा पोका बनाएर राखिएको अवस्थामा १ ग्राम ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।

ब्राउन सुगर बरामद भएपछि दर्जीलाई प्रहरीले पक्राउ गरेको हो। यस्तै, धिमालको शरीर खानतलासी गर्दा पाइन्टको गोजीमा कालो प्लास्टिकमा १९ वटा पोका बनाएर राखिएको १ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ। इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ।