इटहरी। सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा विभिन्न स्थानमा निर्माण गरिएका मूर्ति सेलाउन आइतबार भक्तजन तथा श्रद्धालुको भीड लागेको छ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा निर्माण गरिएका माटोका कलात्मक भगवान् श्रीकृष्णका प्रतिमासहित अन्य देवीदेवताका मूर्ति सेलाउन श्रद्धालुहरू कोशी कटान क्षेत्रमा पुगेका स्थानीय अरुण मण्डलले बताए। जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका माटोका कलात्मक प्रतिमासहित अन्य देवीदेवताका मूर्तिलाई धार्मिक विधिअनुसार पूजाआजा गरी कोशी कटान क्षेत्रमा रहेको जलाशयमा विसर्जन गर्न भक्तजनहरू पुगेका हुन्।

मूर्ति सेलाउन आउनेको चहलपहल बढेसँगै कोशी कटान क्षेत्रमा धार्मिक तथा सांस्कृतिक वातावरण बनेको स्थानीय मण्डलले बताए। भक्तजनहरू बाजागाजा, भजन–कीर्तनसहित कोशी कटान क्षेत्रमा पुगेर कृष्णलगायत देवीदेवताका मूर्ति विसर्जन गरिरहेका छन्।प्रतिमा विसर्जनका क्रममा अप्रिय घटना हुन नदिन स्थानीयवासी तथा सुरक्षाकर्मीले समेत निगरानी बढाएका छन्।

श्रीकृष्ण जन्माष्टमीलाई भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाउने गरिन्छ। यस अवसरमा जिल्लाका विभिन्न स्थानमा धार्मिक कार्यक्रम, पूजाआजा, भजन–कीर्तन तथा राधाकृष्ण रथयात्रासमेत आयोजना गरिएको थियो।