इटहरी । इटहरीमा आयोजित इन्टर जिम ५ ए साइड फुटसल टुर्नामेन्टको उपाधि आयोजक ओएसिस फिटनेसले जितेको छ । शनिबार एसडी फुटसलमा सम्पन्न एकदिने प्रतियोगिताको फाइनलमा ओएसिस फिटनेसले तरहरा फिटनेसलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

प्रतियोगितामा न्युट्री हब फिटनेस तेस्रो भएको छ । ओएसिस फिटनेसको आयोजनामा भएको प्रतियोगितामा विभिन्न जिम तथा फिटनेस सेन्टरका १२ टोलीको सहभागिता रहेको थियो। उपाधि विजेता ओएसिस फिटनेसले नगद २५ हजार रुपैयाँ तथा उपविजेता तरहरा फिटनेसले १५ हजार रुपैयाँ प्राप्त गरेका छन्। दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको थियो। व्यक्तिगत विधातर्फ ओएसिस फिटनेसका स्मीत तामाङ म्यान अफ द सिरिज, न्युट्री हब फिटनेसका नमन राई हाइ स्कोरर तथा ओएसिस फिटनेसका दीप राई बेस्ट किपर घोषित भए ।

उनीहरूलाई जनही १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। सन्तोष न्यौपानेको अध्यक्षता तथा सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशव कार्कीको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो। जिम तथा फिटनेस क्षेत्रमा आबद्ध युवाहरूलाई खेलकुदसँग जोड्दै शारीरिक तन्दुरुस्ती, अनुशासन, स्वस्थ प्रतिस्पर्धाको भावना र आपसी भाइचारा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका विशेष अतिथि सुभाष न्यौपानेले बताउनुभयो। नियमित व्यायाम र खेलकुद मार्फत युवाहरूलाई स्वस्थ जीवनशैली प्रति प्रोत्साहित गर्ने लक्ष्यसमेत प्रतियोगिताको रहेको आयोजकले जनाएको छ ।