इटहरी । थारू समुदायको कला, संस्कृति, पहिचान र प्रतिभाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिस थारू हेरिटेज २६४९ को फाइनल कार्यक्रम सम्पन्न भएको छ ।
दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारको प्रमुख आतिथ्यता तथा ंसदस्य सचिव एवम् प्रमुख कार्यकारी अधिकृत गीतनारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। प्रतियोगिताको निर्णायक मण्डलमा मिस नेपाल इन्टरनेसनल २०१८ की मुख्य निर्णायक रोनाली अमात्य, मिस्टर थारू नेपाल २०१८ का विजेता रविन चौधरी तथा म्यान अफ द वल्र्ड २०२५ प्रकाश चौहान रहनुभएको थियो ।
महिला विधातर्फ शृष्टि चौधरी विजेता बन्न सफल भएकी छन् भने नेहा चौधरी प्रथम उपविजेता र महिमा चौधरी द्वितीय उपविजेता घोषित भए । त्यस्तै, पुरुष विधातर्फ आयुष चौधरी विजेता बने भने मनेश चौधरी प्रथम उपविजेता र विजय चौधरी द्वितीय उपविजेता घोषित भए । यस्तै, लोकप्रिय छनोटतर्फ महिला विधामा निरुता कुमारी चौधरी र पुरुष विधामा मनेश चौधरी चयन भएका छन्। कार्यक्रममा विशेष अतिथिका रूपमा लाइन निर्माता जयेश चौधरी, थारू विद्यार्थी सभा सिराहा जिल्ला सभापति नितेश चौधरी तथा विजेता उपाधिका प्रायोजक एवं लायन्स क्लब अफ माउन्ट एभरेस्टका उपाध्यक्ष बिकेश चौधरी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरी सहित थारू समुदायका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, गायक, मोडल, समाजसेवी, अभिभावक तथा प्रतियोगीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । थारू समुदायको मौलिक कला, संस्कृति र पहिचानलाई नयाँ पुस्ता सम्म पु¥याउँदै बाल तथा युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले थारू समुदायका प्रतिभाहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।


