इटहरी । मोरङको सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड–२०२६’बाट सम्मानित हुनुभएको छ ।
स्थानीय परिवेशबाट सुरु भएको विद्यालयलाई गुणस्तरीय, संस्कारयुक्त र विद्यार्थीकेन्द्रित शिक्षाका माध्यमबाट अघि बढाउँदै अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल उहाँलाई ‘बेस्ट कन्ट्रीब्युसन इन एजुकेसन फिल्ड’ विधामा सम्मान गरिएको हो। काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ नेपाल एन्ड इन्टरनेशनल समिट’ समारोहमा पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले खनाललाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।
एबीएम प्रेजेन्ट्स तथा समरी इन्टरनेशनल प्रालिको सहयोग र विभिन्न संस्थाको सहकार्यमा आयोजित समारोहमा पूर्वसांसद विनोद पहाडी, तेञ्जिङ लामा, जगतप्रसाद जोशी र खेमराज कोइराला लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सो अवसरमा शिक्षा, समाजसेवा र व्यवसाय क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई पनि सम्मानित गरिएको थियो ।
कक्षाकोठा र पाठ्यपुस्तकको सीमाभन्दा माथि उठेर विद्यार्थीको सिर्जनशीलता, क्षमता, अनुशासन र व्यवहारिक ज्ञानलाई प्राथमिकता दिँदै आउनुभएका खनालको यो अन्तर्राष्ट्रिय सम्मानले विद्यालय र समग्र सुन्दरहरैँचा क्षेत्रकै गौरव बढाएको बताउनुभयो । स्थानीय माटोमा रोपिएको शिक्षाको बिरुवा अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुनुले ‘उत्कृष्ट शिक्षा, सक्षम विद्यार्थी र समृद्ध समाज’ निर्माणको लक्ष्य हासिल गर्न थप प्रेरणा, हौसला र जिम्मेवारी थपेको विद्यालय परिवारले जनाएको छ ।


