इटहरी। भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित परिवारको सहयोगार्थ विराटनगरमा नाटकमार्फत मानवीय अभियान सुरु गरिएको छ।
आरोहण गुरुकुल विराटनगरमा साहित्यकार धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ मञ्चन भइरहेको छ। भदौ २१ गतेदेखि २४ गतेसम्म हरेक साँझ ५ बजे नाटक प्रदर्शन गरिने आयोजकले जनाएको छ। नाटकबाट संकलित सम्पूर्ण रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरिने कार्यक्रम संयोजक देवेन्द्र यादव ‘आरोग्य’ले जानकारी दिए। मृत्यु दर्तासँग जोडिएको संवेदनशील घटनालाई मुख्य विषयवस्तु बनाइएको ‘सिफारिस’ले मधेसी सामाजिक परिवेश, महिला हिंसा, दाइजो प्रथा र सामाजिक जालझेलजस्ता विषयलाई प्रस्तुत गरेको छ। नाटकले मनोरञ्जनसँगै समाजमा रहेका सामाजिक विकृति र वास्तविकतालाई उजागर गर्ने प्रयास गरेको आयोजकले जनाएको छ।
नाटकका लागि ३००, ५०० र १ हजार रुपैयाँका टिकट निर्धारण गरिएको छ। विद्यार्थीका लागि भने विशेष सहुलियतको व्यवस्था गरिएको छ। बाढीपीडित परिवारको सहयोगका लागि सञ्चालन गरिएको अभियानमा सहभागी भई नाटक हेर्न तथा मानवीय सहयोग गर्न आयोजकले विराटनगरवासीसहित दर्शकलाई अपिल गरेको छ। नाटकमा दानबहादुर अधिकारी, राजेश ठाकुर, निशान चौहान राई, महेश पासवान, संगिता यादव, प्रदीप दाहाल, गीता कोइराला, अमिशा वाग्ले, डेविड विष्ट, स्नेहा पोख्रेल र भरत कार्कीलगायत कलाकारको अभिनय रहेको छ।
भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आयोजक टोलीले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तीव्र बनाउन र उनीहरूको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारसँग मागसमेत गरेको छ।


