इटहरी । युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने उद्देश्यका साथ इटहरी जेसीजले आगामी भदौ २५ देखि ३१ गतेसम्म ‘जेसीज सप्ताह २०२६’ आयोजना गर्ने भएको छ।
‘डेभलोपिङ लिडर्स फर अ चेन्जिङ वल्र्ड’ भन्ने मूल नाराका साथ साताव्यापी रूपमा विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्य सम्बन्धी सातवटा कार्यक्रमहरू सञ्चालन गर्न लागिएको हो। इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुली, महासचिव जेसी टंकमणि न्यौपाने (रोबिन) र प्रमुख सह–समन्वयक जेसी प्रमोद घिमिरे (भञ्जिया)का अनुसार साताव्यापी अभियानले युवामा नेतृत्व क्षमता अभिवृद्धि गर्दै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।
सार्वजनिक तालिका अनुसार भदौ २५ गते बिहान जेसी अनोज पोखरेलको संयोजनमा उद्घाटन समारोह तथा ‘ह्विलचेयर म्याराथन’ र दिउँसो जेसी प्रसन्न तिम्सिनाको संयोजनमा ‘शिक्षा उपहार’ कार्यक्रम हुनेछ। त्यस्तै, भदौ २६ गते जेसी सुगम कार्कीको संयोजनमा ‘स्वर्गीय टंकप्रसाद निरौला स्मृति वक्तृत्वकला’ र जेसी सुप्रिया बस्नेतको संयोजनमा ‘धार्मिक हाजिरीजवाफ’ प्रतियोगिता आयोजना गरिनेछ। भदौ २८ गते जेसी मिलन कार्कीको संयोजनमा ‘स्वर्गीय देवेन्द्र श्रेष्ठ स्मृति अन्तर जेसीज रनिङ हाजिरीजवाफ’ प्रतियोगिता सञ्चालन हुनेछ।
सप्ताहको अन्त्यतिर भदौ ३० गते जेसी सरोज चौलागाईंको संयोजनमा निःशुल्क स्वास्थ्य शिविर र भदौ ३१ गते जेसी प्रज्वल बस्नेतको संयोजनमा ‘लिडर्स फर टुमारो’ कार्यक्रम सहित साताव्यापी अभियानको औपचारिक समापन गरिनेछ । सन् १९८८ मा स्थापित इटहरी जेसीजले विगतदेखि नै युवा नेतृत्व विकास र सामुदायिक सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।


