इटहरी । “स्मृतिलाई सम्मान, युवालाई अवसर, खेलकुदलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ सुनसरीको बराहक्षेत्र–१०, प्रकाशपुरमा ‘प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप–२०८३’ रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रकाशपुर युवा जमातको आयोजना तथा प्रकाशपुर फुटबल क्लबको प्राविधिक सहयोगमा आगामी असोज २३ गतेदेखि प्रतियोगिता सुरु हुन लागेको हो। वडा कार्यालयको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको उद्देश्य, तयारी र खेल व्यवस्थापनबारे जानकारी दिइएको छ । आयोजक संस्थाका अध्यक्ष मनिस मगरको सभापतित्व तथा बराहक्षेत्र–१० का वडा अध्यक्ष तेजबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनको सञ्चालन पुस्तक राईले गर्नुभएको थियो।

कुल ८ टोलीको सहभागिता रहने यस नकआउट प्रतियोगिताको विजेताले नगद  २ लाख २२ हजार २ सय २२ र उपविजेताले १ लाख ११ हजार १ सय ११ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट गोलकिपर र डिफेन्डरले जनही  २० हजार तथा प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ ले ५ हजार नगद पाउनेछन्। प्रतियोगिताको अनुमानित बजेट ४९ लाख २० हजार ३ सय ५५ रहेको छ ।

खेलकुद विकास, युवा सहभागिता, सामाजिक एकता प्रवद्र्धन तथा दिवङ्गत प्रदीप राईको स्मृतिलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताका लागि आयोजकले स्थानीय तह, वडा कार्यालय, व्यवसायी, समाजसेवी, खेलप्रेमी, सहयोगदाता तथा शुभेच्छुक सबैसँग आर्थिक, भौतिक तथा नैतिक सहयोगको अपेक्षा गरेको छ।