इटहरी । पूर्वी नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षमा चितवन राष्ट्रिय निकुञ्जबाट तीन वर्षअघि स्थानान्तरण गरी ल्याइएका पुष्पा र अञ्जली नामका दुई वटा बच्चा गैँडा अहिले बयस्क भएका छन् । 

एकसिङे पोथी गैँडा बिहान घाँसे मैदानमा हात्तीसँगै चर्दै रमाउने र साँझ आफैँ खोरनजिकै आएर बास बस्ने गरेका छन् । पुष्पा र अञ्जली अब आमा बन्ने उमेरका भइसकेका छन् तर भालेको अभावमा अहिले दुवै थारै रहेको आरक्षका प्रमुख संरक्षक अधिकृत भूपेन्दप्रसाद्र यादवले बताउनुभयो । उहाँका अनुसार भाले गैँडाको अभावले प्रजनन प्रव्रिmया नै नभएपछि कोशीटप्पुमा गैँडाको वंश विस्तार गर्ने सरकारी योजना अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरेर २०८० साल असोज महिनामा कोशीटप्पुमा ल्याइँदा पुष्पा सात र अञ्जली छ वर्षका थिए । अहिले दुवै प्रजननयोग्य उमेरमा पुगेकाले उनीहरूको व्यवहारमै प्रजननको सङ्केत देखिन थालेको भए पनि आरक्षमा एउटा पनि भाले गैँडा नहुँदा प्रजनन प्रव्रिmया हुन नसकेको हो । सप्तरीको कोशीटप्पु आरक्षको कन्चनपुर नगरपालिकामा रहेको पथरी सेक्टरमा ती दुवै गैँडा राखिएको छ ।  

स्थानान्तरण गरेर पुष्पा र अञ्जलीलाई चितवनबाट ल्याउँदा नयाँ वातावरणमा अभ्यस्त बनाउन निकै चुनौती थियो । अहिले उनीहरू कोशीटप्पुको प्राकृतिक परिवेशसँग पूर्ण रूपमा घुलमिल भइसकेकाले अब एउटा भाले गैँडा पनि यहाँ ल्याउन सम्बन्धित निकायमा पत्राचार गरिएको भए पनि अहिलेसम्म सुनुवाइ नभएको प्रमुख संरक्षण अधिकृत यादव बताउनुहुन्छ । कोशी प्रदेशका सुनसरी र उदयपुर तथा मधेश प्रदेशको सप्तरी जिल्लामा १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षको सिमसार भूमि र विशाल घाँसे मैदान गैँडाका लागि अत्यन्त उपयुक्त रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत यादवले बताउनुभयो ।  आरक्षको पथरी सेक्टरमा उनीहरूका लागि १६ फिट अग्लो र ८५ फिट लामो सुरक्षित खोर निर्माण गरिएको छ । दैनिक चरिचरनपछि त्यहीँ ल्याएर उनीहरूलाई विश्राम गराइन्छ । अहिले जवान भएका दुवै पोथी गैँडाले खोर तोडेर बाहिर निस्कने गरेपछि अब भाले ल्याउन ढिलो गर्न नहुने बताउनुहुन्छ । 

प्रमुख यादवका अनुसार भाले गैँडाका लागि अर्को एउटा खोर तयारी अवस्थामा राखिएको छ भने नयाँ अर्को पनि निर्माण गर्ने तयारी भएको छ । केही समयअघि कोशीटप्पुमा स्थानान्तरण गरिएको भाले गैँडा ‘मेघौली’ लाई भने पुनः चितवन राष्ट्रिय निकुञ्जमा फर्काइएको छ । पश्चिम चितवनको मेघौलीबाट २०७४ सालमा उद्धार गरिएको मेघौली आरक्षको घाँसे मैदानभन्दा गाउँतिर डुल्न रुचाउने भएपछि पुनः चितवन लगिएको हो । प्राकृतिक वासस्थानभन्दा मानव बस्तीमा बस्न रुचाएको भन्दै मेघौलीलाई फकार्र्ईएपछि नयाँ ल्याउने तयारी गरिएको भए पनि चितवन राष्ट्रिय निकुञ्जले आनाकानी गरेपछि ढिलाइ भएको हो । यादवका अनुसार पोथी गैँडा चार वर्ष र भाले गैँडा करिब छ वर्ष पुगेपछि प्रजननका लागि योग्य हुन्छन् तर पुष्पा र अञ्जली त नौ वर्षका भइसकेकाले दुवै अहिले प्रजननयोग्य भएका हुन् । 

कोशीटप्पुलाई अर्ना मात्र होइन, गैँडा र हात्ती अवलोकनको प्रमुख गन्तव्य बनाउने दीर्घकालीन योजना अनुसार गैँडा स्थानान्तरण गरिएको थियो । त्यसका लागि अहिलेको भन्दा ठुलो घाँसे मैदानलाई घेराबेरा गरेर सुरक्षित वासस्थान तयार पार्ने तयारी गरिरहेको आरक्ष कार्यालयले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पुष्पा र अञ्जली दुवै टुहुरो अवस्थामा उद्धार गरिएका गैँडा हुन् सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा मानिसको स्याहारमा हुर्किएपछि उनीहरूलाई कोशीटप्पु वन्यजन्तु आरक्षमा सारिएको थियो । बर्दिया र शुक्लाफाँटामा स्थानान्तरण गरिएका गैँडाबाट अपेक्षित प्रजनन सफलता नआइरहेका बेला कोशीटप्पुमा भने भाले गैँडा ल्याइएपछि पुष्पा र अञ्जली दुवै आमा बन्न सक्षम हुनेमा आशावादी रहेको त्यहाँका संरक्षणकर्मीहरू बताउँछन् ।