इटहरी स् इनरुवा नगरपालिका–६ का १६ वर्षीय अभिषेक श्रेष्ठका लागि २०८२ साल भदौ २७ गते जीवनको नयाँ अध्याय सुरु हुने दिन थियो। उनी साउदी अरब जाने तयारीमा थिए। हातमा पासपोर्ट थियो, विदेश उड्ने टिकटसमेत आइसकेको थियो।
परिवारले छोरा विदेश गएपछि घरको आर्थिक अवस्था केही सहज हुने सपना देखेको थियो। तर त्यो सपना पूरा हुन पाएन। विदेश उड्ने चार दिनअघि अर्थात् भदौ २३ गते जेनजी आन्दोलनका क्रममा इटहरीमा प्रहरीको गोली लागेर अभिषेकको मृत्यु भयो। विदेश जाने तयारीमा रहेका एक किशोरको जीवन एकाएक आन्दोलनको भीडमै रोकियो। परिवारले केही दिनपछि छोरा विदेश गएको खबर सुन्नुपर्ने थियो, तर चार दिनअघि नै उनको मृत्युको खबर सुन्नुपर्यो। ‘छोरा विदेश गएपछि परिवारको दुःख केही कम हुन्छ भन्ने लागेको थियो,’ ४२ वर्षीया आमा सुष्माले भनिन्, ‘तर भाग्यले साथ दिएन। विदेश जाने तयारीमा रहेको छोरालाई नै गुमाउनुपर्यो।’ अभिषेकको मृत्युले श्रेष्ठ परिवारमा ठूलो बज्रपात परेको छ। परिवारको आर्थिक अवस्था सुधार्ने आशा बोकेर हिँडेको छोराको सपना मात्र होइन, परिवारको भरोसासमेत एकैपटक टुटेको छ।
अभिषेकको विदेश यात्राका लागि तयार गरिएका कागजपत्र र सम्झनाहरू अहिले परिवारका लागि पीडाका कारण बनेका छन्। केही दिनमै नयाँ ठाउँ र नयाँ जीवन सुरु गर्ने तयारीमा रहेका अभिषेक अहिले परिवारको सम्झनामा मात्रै सीमित छन्। अभिषेक इटहरीस्थित बरगर हाउसमा काम गर्थे। त्यहाँबाट लिन बाँकी रहेको केही पारिश्रमिक लिन उनी भदौ २३ गते इटहरी पुगेका थिए। त्यही दिन उनको जीवनको अन्तिम दिन बन्न पुग्यो। इटहरीमा जेनजी आन्दोलन भइरहेको थियो। अभिषेक पनि आन्दोलनमा सहभागी हुन पुगे। तर छोरा आन्दोलनमा गएको कुरा परिवारका कसैलाई थाहा थिएन। राति अचानक इटहरीमै घर भएका उनका ठूलोबुबा टीका श्रेष्ठमार्फत परिवारले अभिषेकको मृत्युको खबर पायो। ‘छोरा आन्दोलनमा गएको थाहै थिएन,’ सुष्माले भनिन्। छोराको स्वभाव सम्झँदै सुष्मा भन्छिन्, ‘छोराले त्यस्तो लटरपटर केही गर्दैनथ्यो। सोझो थियो। नराम्रो केही गर्दैनथ्यो।’
अभिषेकको विदेश जाने सपना र त्यसका लागि तयार गरिएका कागजात अहिले उनकी आमाका लागि अधुरो सपनाको सम्झना बनेका छन्। छोरालाई सम्झँदा सुष्माका आँखामा आँसु भरिन्छन्। अभिषेकको मृत्यु भएपछि परिवारको आर्थिक जिम्मेवारी थप कठिन बनेको छ। उनका भाइ समीर अहिले तीन महिनादेखि नेपाल विद्युत् प्राधिकरणमा ज्यालादारीमा काम गरिरहेका छन्। तर उनको रोजगारी पनि दिगो हुने–नहुने टुंगो छैन। अभिषेकका बाबु झगडबहादुर छोराको मृत्यु हुँदा विदेशमै थिए। छोराको मृत्युको खबरपछि उनी स्वदेश फर्किएर अहिले रिक्सा चलाउँदै परिवारको जीविकोपार्जन गरिरहेका छन्। जेनजी आन्दोलन परिवर्तनको आवाज बोकेर सडकमा आएको थियो। तर त्यही आन्दोलनमा अभिषेकजस्ता युवाले जीवन गुमाए। परिवारका लागि भने आन्दोलनको त्यो दिन अहिले विदेश उड्ने तयारीमा रहेको छोरालाई सधैँका लागि गुमाएको दिन बनेको छ।


