इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका बाल यौन दुरुपयोग मुद्दाका एक थुनुवाको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ६८ वर्षीय गोपाल कार्की रहेका छन् । उनी बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धानका लागि भदौ ५ गतेदेखि प्रहरी हिरासतमा थिए । प्रहरी हिरासतमा रहेका कार्की मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठान पुर्‍याएलगत्तै बिहान करिब ४ बजे चिकित्सकले कार्कीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार उपचारका क्रममा कार्कीको मृत्यु भएको हो । उनका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव परिवारलाई बुझाइनेछ । कार्कीको मृत्युको कारण भने खुल्न बाँकी छ । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको छ । पोस्टमार्टम र अनुसन्धानपछि मात्रै मृत्युको कारण यकिन हुने प्रहरीले जनाएको छ ।

बाल यौन दुरुपयोग मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेका बेला कार्कीको अचानक मृत्यु भएको हो । उनी नेपाल प्रहरीका पूर्व हवल्दारसमेत रहेको बताइएको छ ।