इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति इटहरीमा दीप प्रज्वलन तथा शोकसभा गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोकको १३औँ दिनको दिन इटहरीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको हो । मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको आयोजनामा इटहरी चोकमा दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठको उपस्थितिमा बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति दीप प्रज्वलन गर्दै चीरशान्तिको कामना गरिएको थियो । घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको थियो ।
मानव अधिकार तथा शान्ति समाज सुनसरीका अध्यक्ष ओम गौतमसहित शाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा मृतकप्रति मौन श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो । यसैगरी,लायन्स इन्टरनेशनल ३२५ डीको आयोजनामा इटहरी–६ स्थित मुख्य गोलचोकमा दीप प्रज्वलन तथा शोकसभा गरिएको थियो । लायन्सका कोषाध्यक्ष लोकेन्द्रप्रसाद ढकालको अगुवाइमा भएको कार्यक्रममा बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरिएको थियो ।
इटहरी-२० तरहरास्थित शिव मन्दिरमा दिवंगतहरूको स्मृतिमा दीप प्रज्वलनसमेत गरिएको छ । वडाध्यक्ष मणिराम श्रेष्ठको उपस्थितिमा कार्यक्रम आयोजना गरियो । दीप प्रज्वलनपछि आयोजित शोकसभामा सहभागीहरूले विपद्मा ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए । साथै, बाढीबाट प्रभावित तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको आयोजकले जनाएको छ ।


