इटहरी । विश्व रेबिज दिवस २०२६ को अवसरमा स्वस्तिक भेट्स एण्ड पेट सेन्टर प्रा.लि., इटहरी र नेपाल भेटेरिनरी एसोसिएसन (NVA), कोशी प्रदेशको सहकार्यमा इटहरीमा निःशुल्क पशु स्वास्थ्य परीक्षण तथा एन्टी–रेबिज खोप कार्यक्रम सञ्चालन हुने भएको छ।

२०८३ साल असोज १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने कार्यक्रम स्वस्तिक भेट्स एण्ड पेट सेन्टर, इटहरी–९, हस्पिटल लाइनमा आयोजना गरिनेछ। मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई जोड दिने ‘वन हेल्थ’ (One Health) अवधारणालाई आत्मसात् गर्दै आयोजना गर्न लागिएको कार्यक्रमको यस वर्षको विश्व रेबिज दिवसको मूल नारा ‘Stronger Together’ रहेको छ। विश्व रेबिज दिवस हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइन्छ। कार्यक्रमअन्तर्गत घरपालुवा तथा समुदायमा रहेका कुकुरलगायत जनावरको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै रेबिजको जोखिम न्यूनीकरणका लागि निःशुल्क एन्टी–रेबिज खोप लगाइनेछ।

रेबिजबाट हुने जनस्वास्थ्य जोखिम न्यूनीकरण, पशु स्वास्थ्य संरक्षण तथा रेबिजविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। स्वस्तिक भेट्स एण्ड पेट सेन्टर प्रा.लि.का सञ्चालक तथा नेपाल भेटेरिनरी एसोसिएसन, कोशी प्रदेशका कोषाध्यक्ष डा. जय बिक्रम शाहले रेबिज नियन्त्रणका लागि पशुलाई समयमै खोप लगाउनु महत्वपूर्ण रहेको बताए। ‘रेबिज नियन्त्रण कुनै एक संस्था वा व्यक्तिको मात्र प्रयासले सम्भव हुँदैन। पशु स्वास्थ्य, मानव स्वास्थ्य र वातावरणलाई एकीकृत रूपमा हेर्दै सबै पक्षबीचको सहकार्य आवश्यक छ। त्यसैले ‘Stronger Together’ भन्ने नाराले रेबिजविरुद्धको सामूहिक प्रयासलाई प्रतिनिधित्व गर्छ,’ उनले भने।

रेबिज नियन्त्रणका लागि पशुलाई नियमित खोप लगाउने, जनचेतना अभिवृद्धि गर्ने तथा मानव र पशु स्वास्थ्यबीच समन्वय कायम गर्ने कार्य महत्वपूर्ण रहेको चिकित्सक तथा आयोजक पक्षले जनाएको छ। आयोजकले इटहरी तथा आसपासका पशुपालक र घरपालुवा जनावरका अभिभावकलाई असोज १२ गतेदेखि १७ गतेसम्म स्वस्तिक भेट्स एण्ड पेट सेन्टर, इटहरी–९, हस्पिटल लाइनमा उपस्थित भई आफ्ना पशुको स्वास्थ्य परीक्षण तथा रेबिजविरुद्धको खोप लगाउन आग्रह गरेको छ। रेबिजमुक्त समाज निर्माणका लागि पशुलाई सुरक्षित राख्दै आफू पनि सुरक्षित बन्न र रेबिजविरुद्धको अभियानमा एकजुट हुन आयोजकले आग्रह गरेको छ।