इटहरी । तेह्रथुमको लालिगुराँस नगरपालिका–१ डाँडाखर्कस्थित सडकको भित्तातर्फको भाग भत्किएपछि सवारीसाधन आवतजावतमा अवरोध भएको छ ।

सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बसन्तपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्थानीय जनप्रतिनिधि, सडक डिभिजन कार्यालय धनकुटा लगायतका निकायले भत्किएको सडक तथा सञ्चालनमा ल्याइएको वैकल्पिक बाइपास सडकको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा बसन्तपुर बजारको प्रगति टोल हुँदै टुटेदेउराली तर्फ जाने दुईवटा वैकल्पिक सडकको अवस्था समेत निरीक्षण गरिएको छ ।

तीमध्ये तल्लो सडक साँघुरो भएकाले ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुने देखिएको सडक डिभिजन कार्यालय धनकुटाका इन्जिनियर उज्ज्वल खतिवडाले बताउनुभयो । ठूला सवारी साधनलाई सहज रूपमा आवतजावत गराउन आवश्यक चौडाइ कायम गर्नुपर्ने भएकाले आवश्यकता अनुसार दुवैतर्फका केही घरका बार्दली लगायतका संरचना हटाउने तथा सडक कटान गर्ने तयारी गरिएको इन्जिनियर खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार कुन ठाउँमा कति संरचना हटाउने भन्ने विषय स्थलगत अवस्था र सडकको आवश्यकताका आधारमा निर्धारण गरिनेछ । यसबाट वैकल्पिक सडकलाई थप व्यवस्थित र सवारीसाधन सञ्चालनका लागि सहज बनाउने लक्ष्य रहेको छ ।

मुख्य सडक भत्किएपछि तत्कालका लागि वैकल्पिक सडकबाट सवारीसाधन सञ्चालन भइरहेको छ । तर वैकल्पिक मार्ग साँघुरो भएकाले ठूला सवारीसाधनलाई आवतजावतमा समस्या भइरहेको छ । स्थलगत अनुगमनमा प्रमुख जिल्ला अधिकारी बन्धना राई, जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायव उपरीक्षक लक्ष्मण ओली, इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रमुख प्रहरी निरीक्षक रुपेश तामाङ लगायत सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो । मुख्य सडकको भत्किएको भागको मर्मत तथा पुनर्निर्माणमा समय लाग्ने भएकाले तत्कालका लागि वैकल्पिक मार्गलाई सुरक्षित र सहज बनाउँदै यातायात सञ्चालनलाई निरन्तरता दिने तयारी गरिएको छ ।