इटहरी । कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारले भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूका परिवारसँग भेटघाट गर्नुभएको छ ।
राज्यमन्त्री परियारले बराहक्षेत्र नगरपालिका–५, माझीटोलका बेपत्ता ४७ वर्षीय मोहनलाल माझी र बराहक्षेत्र–३, भरौलकी २२ वर्षीया रुवीना धामीको परिवारसँग भेट गरी सान्त्वना दिनुभएको हो। भेटका क्रममा उहाँले बेपत्ताहरूको खोजी, उद्धार तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले गरिरहेको पहलबारे जानकारी गराउनुभयो।
बेपत्ता माझी माथिल्लो त्रिशूली चिनियाँ कम्पनीमा सुरक्षा अधिकृत र धामी टिमुरेस्थित एक होटेलमा कार्यरत हुनुहुन्थ्यो। आफन्त बेपत्ता भएपछि चिन्तित बनेका परिवारलाई प्रदेश सरकारका तर्फबाट खोजी कार्य निरन्तर जारी राख्ने आश्वासन दिइएको छ ।


