इटहरी । मोरङको बूढीगंगा गाउँपालिकामा ग्यास लिक भएर शरीरमा आगो लाग्दा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका–४ प्रगति टोलकी ४६ वर्षीया सुष्मा भण्डारी रहेकी छन्। उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ७ः५० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। प्रहरीका अनुसार भदौ १५ गते बिहान करिब ६ बजे सुष्मा घरको भान्सामा चिया पकाउन ग्यास बाल्ने क्रममा अचानक ग्यास लिक भएको थियो। ग्यास लिक भएपछि सल्किएको आगोले उनको शरीरमा आगो लागेको थियो।
आगलागीबाट सुष्माको टाउको, अनुहार, बाँया हात तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा उपचार भइरहे पनि स्वास्थ्य अवस्थामा सुधार आउन नसकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सुष्माको शरीरमा लागेको आगो निभाउने क्रममा उनका पति ५० वर्षीय केशव भण्डारीसमेत घाइते भएका थिए। सामान्य अवस्थामा रहेका केशवको पनि विराट शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


