इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । कोशी लोकमार्गमा चेकजाँचका क्रममा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले १ हजार २४० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो ।

मंगलबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको ट्रकलाई फेदीमा चेकजाँचका लागि रोक्न खोजेको थियो । प्रहरीले ट्रक रोक्न संकेत गरेपछि चालक ट्रकबाट हाम फालेर फरार भएको जनाएको छ । चालक फरार भएपछि ट्रक शंकास्पद लागेर प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो ।

प्रहरीले गाँजा र ट्रकलाई नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।