इटहरी स् दाँत दुखेपछि उपचारका लागि धरानस्थित भारतीय सेनाको फुस्रे अस्पतालतर्फ निस्किएका इटहरी–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
मंगलबार दिउँसो घरबाट उपचारका लागि निस्किएका घिमिरे धरान उपमहानगरपालिका–८ स्थित गुराँस चोकमा मोटरसाइकल दुर्घटनामा परेका थिए । कोशी राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ को ८ प ३३३३ नम्बरको मोटरसाइकलमा सवार घिमिरेले आफ्नै साइडमा रोकिराखिएको प्रदेश १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका घिमिरेलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
त्यहाँ थप उपचार आवश्यक भएपछि उनलाई विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो । उपचारकै क्रममा मंगलबार राति करिब ९ः४० बजे चिकित्सकले घिमिरेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना मंगलबार दिउँसो करिब २ः४५ बजे भएको थियो । प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
दुर्घटनापछि प्रहरीले सिटी सफारी र त्यसका चालक धरान उपमहानगरपालिका–५ का ३८ वर्षीय रचन मगरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घिमिरे भारतीय सेनाको जलसेनातर्फका पूर्वहवल्दारसमेत रहेको परिवारले जनाएको छ । घरमै बसिरहेका बेला अचानक दाँत धेरै दुखेपछि उपचारका लागि धरान जाने क्रममा उनी दुर्घटनामा परेको परिवारको भनाइ छ । घिमिरे सामाजिक क्षेत्रमा पनि सक्रिय थिए । उनी लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीका जनसम्पर्क अधिकारीसमेत रहेका थिए ।
घिमिरेको निधनले परिवार, आफन्त तथा सामाजिक क्षेत्रमा शोक छाएको छ । उनका श्रीमती र दुई छोरी छन् ।


