इटहरी स् भद्रपुरमा निर्माणाधीन भवनमा मार्बल अनलोड गर्ने क्रममा थिचिएर एक जना कामदारको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरस्थित राममन्दिर बस्ने ३१ वर्षीय राजेन्द्र खड्का रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार दिउँसो करिब १२ः४५ बजे भद्रपुर नगरपालिका–५ स्थित सूर्य प्लाइउड फ्याक्ट्रीमा निर्माण भइरहेको नयाँ भवनमा मार्बल अनलोड गर्ने क्रममा दुर्घटना भएको हो। भवनमा प्रयोगका लागि ल्याइएको मे १ ज २२१८ नम्बरको बोलेरो पिकअपबाट मार्बल झार्ने क्रममा खड्कालाई मार्बलले थिचेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएको थियो।
अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।


