इटहरी । देश बाढी–पहिरोको विपद्बाट गुज्रिरहेका बेला सुनसरी जिल्ला अदालत, इनरुवाले निजामती सेवा दिवसका पूर्वनिर्धारित सबै मनोरञ्जनात्मक कार्यक्रम स्थगित गरी रक्तदान कार्यक्रम आयोजना गरेको छ।

रसुवागढी क्षेत्रको भीषण बाढीपछि सरकारले दिवसका औपचारिक कार्यक्रम रद्द गरी विनियोजित बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत तथा उद्धारमा प्रयोग गर्ने निर्णय गरेसँगै अदालतले पनि पूर्वघोषित कार्यक्रम परिवर्तन गरेको हो। अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार दिवसका अवसरमा कर्मचारीहरूबीच सहकार्य र आपसी सम्बन्ध सुधार गर्न फुटबल, ब्याडमिन्टन र चेस जस्ता प्रतियोगिताको तयारी गरिएको थियो। सोही निर्णय र निर्देशनलाई पालना गर्दै अदालतले पूर्वघोषित खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम रद्द गरेको हो।

अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार दिवसका अवसरमा कर्मचारीबीच सहकार्य बढाउन फुटबल, ब्याडमिन्टन र चेसजस्ता प्रतियोगिताको तयारी गरिएको थियो। तर, देशमा उत्पन्न विपद्को संवेदनशील घडीमा उत्सव मनाउनुभन्दा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व महत्त्वपूर्ण हुने भएकाले ती कार्यक्रम स्थगित गरिएको राणाले जानकारी दिनुभयो । ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ अदालत परिसरमा आयोजित कार्यक्रममा कर्मचारी र सर्वसाधारणले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

विपद्का बेला रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले आयोजित यस कार्यक्रमले निजामती कर्मचारीको सामाजिक दायित्व र विपद्प्रतिको संवेदनशीलतालाई उजागर गरेको छ । संकटको समयमा प्रशासनिक निकाय केवल औपचारिक समारोहमा सीमित नभई नागरिकको सुखदुःखमा साझेदार बन्नुपर्छ भन्ने सन्देश दिएको छ ।