इटहरी । मोरङको सुन्दरहरैँचा–३ मा रहेको ज्येष्ठ नागरिक सेवा समाज नेपालले कुशे औँसीको अवसर पारेर पिता सम्मान कार्यक्रम–२०८३ सम्पन्न गरेको छ ।
सुन्दरहरैँचा–३ स्थित लक्ष्मीनारायण मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा दुई जना ज्येष्ठ नागरिकलाई नगदसहित विशेष सम्मान गरिएको छ भने करिब २ सय जना ज्येष्ठ नागरिकलाई गम्छा, ब्याग र फलफूलसहित सम्मान गरिएको ज्येष्ठ नागरिक सेवा समाज नेपालकी सहजकर्ता रीता दाहालले जानकारी दिनुभयो । कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक सेवा समाज नेपाल, सुन्दरहरैँचा–३ का अध्यक्ष भीमबहादुर कार्कीले गर्नुभएको थियो ।
कार्यक्रममा सुन्दरहरैँचा–३ का अध्यक्ष विदुर ढुंगाना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यस्तै विशिष्ट अतिथि जीवन ढुंगाना, सामाजिक व्यक्तित्व निरञ्जनप्रसाद आचार्य तथा स्वतन्त्र नागरिक समाज, सुन्दरहरैँचा मोरङका अध्यक्ष नेत्रप्रसाद चम्लागाईं लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष भीमबहादुर कार्कीले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण परिवार तथा समाजको साझा दायित्व भएको बताउनुभयो । प्रमुख अतिथि विदुर ढुंगानाले ज्येष्ठ नागरिक अनुभव र ज्ञानका महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै उनीहरूको सम्मानले नयाँ पुस्तामा संस्कार र जिम्मेवारीको भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो । त्यस्तै नेत्रप्रसाद चम्लागाईंले ज्येष्ठ नागरिकप्रति सम्मान र सद्भाव देखाउने यस्ता कार्यक्रमले सामाजिक एकता र पुस्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने धारणा राख्नुभयो ।
सामाजिक व्यक्तित्व निरञ्जनप्रसाद आचार्यले ज्येष्ठ नागरिकको अनुभवलाई समाज विकासमा उपयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रमकी सहजकर्ता रीता दाहालले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु केवल औपचारिक कार्यक्रम नभई उनीहरूले जीवनभर समाज र परिवारका लागि गरेको योगदानप्रतिको सम्मान भएको बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक, सामाजिक व्यक्तित्व तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कुशे औँसीको अवसरमा आयोजित कार्यक्रमले बुबा तथा ज्येष्ठ नागरिकप्रतिको सम्मान, माया र पुस्तान्तरणको भावनालाई थप बलियो बनाएको आयोजकको भनाइ छ।

