इटहरी । बाढी तथा विपद् प्रभावितको राहतका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीले हालसम्म करिब ४७ लाख रुपैयाँ संकलन गरेको छ।
प्याब्सन केन्द्रीय कमिटीको देशभरिबाट १० करोड रुपैयाँ सहयोग जुटाउने निर्णय अनुसार जिल्लामा यो अभियान तीव्र पारिएको हो। सुनसरीमा ५० लाख रुपैयाँ संकलन गरी हस्तान्तरण गर्ने लक्ष्य राखिएको प्याब्सन सुनसरीका अध्यक्ष नेशनल थानेश्वर ढकालले जानकारी दिनुभयो । जिल्लाभर प्याब्सनसँग सम्बद्ध १९७ विद्यालय मध्ये हालसम्म १८० वटा विद्यालयले सहयोग रकम हस्तान्तरण गरिसकेका छन्।
क्षेत्रगत रूपमा संकलित रकमको विवरण अनुसार सबैभन्दा बढी इटहरी क्षेत्रबाट १६ लाख रुपैयाँ संकलन भएको छ। त्यसैगरी धरानबाट १० लाख, रामधुनीबाट ८ लाख, इनरुवाबाट ५ लाख ५० हजार, बराहक्षेत्रबाट ४ लाख र गढी क्षेत्रबाट १ लाख रुपैयाँ संकलन भएको छ। जिल्लाका ७ वटा क्षेत्रबाट संकलन गरिएको यो रकम प्याब्सनको केन्द्रीय कमिटी मार्फत विपद् प्रभावित क्षेत्रका बाढीपीडितलाई हस्तान्तरण गरिने जनाइएको छ ।

