इटहरी । निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा लेखा प्रमुखहरूका लागि दुईदिने ‘लेखा, कम्पनी तथा सामाजिक सुरक्षा कोषसम्बन्धी तालिम कार्यक्रम’ सम्पन्न भएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा विराटनगरस्थित घिमिरे परिषद् भवनमा सम्पन्न भएको हो । निजी विद्यालय सञ्चालनका क्रममा आवश्यक पर्ने लेखा व्यवस्थापन, कम्पनीसम्बन्धी कानुनी प्रक्रिया तथा सामाजिक सुरक्षा कोषका विषयमा सहभागीलाई व्यवहारिक र समसामयिक जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको हो।
तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि सामाजिक विकास मन्त्री गीता तिम्सिनाले शैक्षिक क्षेत्रमा निजी विद्यालयको योगदानको प्रशंसा गर्दै संस्थागत व्यवस्थापन, पारदर्शिता र कानुनी दायित्वलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नेशनल प्याब्सन कोशीका अध्यक्ष कमल खनालले बदलिँदो कानुनी तथा प्रशासनिक व्यवस्थाअनुसार विद्यालय सञ्चालक तथा कर्मचारीहरू निरन्तर अद्यावधिक हुन यस्ता तालिम अत्यन्त उपयोगी हुने बताउनुभयो ।
कार्यक्रमका क्रममा संस्थागत योगदान पु¥याउने सुरेन्द्र चौधरी, खगेन्द्र केसी, भनिरुद्र चौधरी र प्रमोद यादव सहित पत्रकार योगेन्द्र योगी, एलएन गच्छदार र शिव भट्टराईलाई समेत सम्मान गरिएको थियो ।


