इटहरी स् रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएको १७ दिनसम्म पनि पार्थिव शरीर फेला नपरेपछि उदयपुरका देवेन्द्र घिमिरेको कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिएको छ।
त्रियुगा नगरपालिका–४ बगाहाका ४० वर्षीय देवेन्द्र भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता भएका थिए। उनी त्रिशूली हाइड्रो प्रोजेक्टमा कार्यरत थिए। बाढी आउनुभन्दा करिब आधा घण्टाअघि मात्र परिवारसँग फोनमा कुराकानी गरेका देवेन्द्र त्यसपछि सम्पर्कविहीन भएका थिए। त्यसयता परिवारले उनको अवस्था पत्ता लाग्ने र कुनै न कुनै दिन पार्थिव शरीर घरसम्म आइपुग्ने आशामा खोजी गरिरहेको थियो। तर १७ दिनसम्म निरन्तर खोजी गर्दा पनि देवेन्द्रको कुनै अत्तोपत्तो नलागेपछि परिवारले धार्मिक संस्कार पूरा गर्न प्रतीकात्मक अन्त्येष्टि गरेको हो।
त्रियुगा नगरपालिका–४ स्थित अर्ना खोला र त्रियुगा नदीको दोभानमा कुशलाई मानिसको स्वरूपमा ढालेर प्रतीकात्मक शव तयार पारिएको थियो। त्यसैलाई देवेन्द्रको शरीर मानेर हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गरिएको हो। देवेन्द्रका छोरा उज्ज्वल घिमिरेले प्रतीकात्मक शवमा दागबत्ती दिएका छन्। उनले कपाल मुण्डन गरी १३ दिने किरिया सुरु गरेका छन्। आफ्नै आँखाले बुबाको पार्थिव शरीर देख्न नपाउनु, अन्तिम पटक छुन र अँगालो हाल्न नपाउनु तथा आफ्नै हातले बुबाको अन्तिम संस्कार गर्न नपाउनुको पीडाबीच उज्ज्वलले कुशबाट बनाइएको प्रतीकात्मक शवमा दागबत्ती दिएका हुन्। अन्तिम संस्कारका क्रममा देवेन्द्रकी आमा गौरदेवी, बुवा उद्धव घिमिरे र श्रीमती अप्सराले कुशको प्रतीकात्मक शवलाई परिवारको सदस्यका रूपमा स्वीकार गर्दै अन्तिम विदाइ गरेका थिए।
आफन्तजन र स्थानीयको उपस्थितिमा गरिएको अन्त्येष्टिको दृश्य अत्यन्तै कारुणिक बनेको थियो। देवेन्द्रका बुवा उद्धव घिमिरेका अनुसार घटनापछि परिवार घटनास्थलसम्म पुगेर सम्भावित स्थानमा खोजीमा जुटेको थियो। तर भोटेकोसीको तीव्र बहाव र बाढीले निम्त्याएको विनाशका कारण लामो समयसम्म खोजी गर्दा पनि देवेन्द्रको अवस्था पत्ता लाग्न सकेन। १७ दिनसम्म छोराको शव आउने प्रतीक्षामा बसेका उद्धवका लागि कुशको प्रतीकात्मक शवमा दागबत्ती दिनु सामान्य धार्मिक कर्मकाण्ड मात्र थिएन। यो आफ्नै सन्तानको वास्तविक शवसमेत नदेखी गर्नुपरेको विवश अन्तिम विदाइ थियो।
बाढीले देवेन्द्रलाई परिवारबाट छुटाएको १७ दिन बितिसक्दा पनि उनको पार्थिव शरीर कहाँ छ भन्ने अझै पत्ता लागेको छैन। तर परिवारले धार्मिक संस्कार पूरा गर्दै कुशलाई नै देवेन्द्रको प्रतीक मानेर अन्तिम विदाइ गरेको छ।


