इटहरी। सामान्यतस् सरकारी कार्यालय खुल्ने समय कुर्नुपर्ने झापाका सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय झापाले आफ्नो कार्यशैली केही फरक बनाएको छ । बिहान बजे नै कार्यालयको ढोका खुल्छ । कर्मचारी काममा जुट्छन् र राष्ट्रिय परिचयपत्र तथा राहदानीका लागि पालो पर्खिरहेका सेवाग्राहीको काम सुरु हुन्छ ।   बिहान ७ बजेदेखि सेवा सुरु गर्ने यो अभ्यास केवल कार्यालय चाँडो खोल्ने निर्णयमा सीमित छैन । लामो समयदेखि अनलाइन आवेदन गरेर बायोमेट्रिकलगायत प्रक्रियाका लागि पालो कुरिरहेका नागरिकको सङ्ख्या घटाउने उद्देश्य रहेको छ । जिल्ला प्रशासन कार्यालय झापाले अहिले ‘शून्य बाँकी आवेदन अभियान’ सञ्चालन सुरु गरेको जनाएको छ । आगामी असोज १५ गतेसम्म सञ्चालन हुने अभियानमा सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा उपलब्ध गराउने निर्णय गरिए  जिल्ला श्रवणकुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीको चापलाई व्यवस्थापन गर्दै पालोमा रहेका आवेदनलाई सकेसम्म शून्यमा झार्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको हो । 

सरकारी कार्यालयको नियमित समयभन्दा अगाडि अर्थात् बिहान ७ बजे नै सेवा सुरु हुनु अभियानको सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताइएको छ । बिहानै कार्यालय पुग्ने सेवाग्राहीले आफ्नो पालो अनुसार सेवा लिन पाउने छन् । । उहाँले भन्नुभयो, “बिहानै सेवा लिन सकिने भएपछि आफ्नो दैनिक काममा फर्किन चाहने सेवाग्राहीका लागि समय व्यवस्थापन पनि सहज हुन सक्छ ।   राष्ट्रिय परिचयपत्र र राहदानी अहिले नागरिकका लागि अत्यावश्यक सरकारी सेवामध्ये पर्छन् । विदेश अध्ययन, रोजगारी, भ्रमणदेखि विभिन्न सरकारी तथा वित्तीय काममा समेत आवश्यक पर्ने भएकाले यी सेवाको माग बढिरहेको छ । अनलाइनबाट आवेदन गर्ने व्यवस्था भएपछि कार्यालयमा प्रारम्भिक भिड कम भएको छ तर आवेदनपछि बायोमेट्रिकलगायत प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सेवाग्राहीको चाप पूर्ण रूपमा नहटेको जनाइएको छ । 

बिदामा पनि सेवा

 अभियानको अर्को फरक पक्ष भनेको सार्वजनिक बिदामा समेत सेवा प्रवाहलाई नरोकिने पनि जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । नागरिकको सेवा चाप धेरै रहेको अवस्थामा बिदाको दिन पनि कार्यालय सञ्चालन गर्ने निर्णय प्रशासनले गरेको पोखरेलले बताउनुभयो । सेवा सुधार र जनमुखी प्रशासनका लागि यो एउटा सानो कदम भएको पोखरेलको दाबी छ ।