इटहरी । विराटनगर बसपार्कबाट दैनिक दिवा तथा रात्रिकालीन यात्राका लागि ३५ वटा बस काठमाडौँका लागि छुट्थे । त्यति नै सङ्ख्यामा काठमाडौँबाट विराटनगरका लागि समेत यात्रु बोकेर फर्कन्थे ।   सुविधायुक्त सार्वजानिक यातायात सेवा दिँदै आएका दिवा तथा रात्रिकालीन बस गत भदौ १० गतेदेखि आउजाउ रोकिएर स्ट्यान्डमा थन्किएका छन् । यसको असरमा यात्रु, यातायात व्यवसायीदेखि यातायातमा काम गर्ने मजदुर र कर्मचारीसम्म परेका छन् । 

भोटेकोशी बाढीपछि अवरोध सडकका कारण ३० सिट क्षमताभन्दा माथिका बसले विराटनगर–काठमाडौँ र काठमाडौँ–विराटनगर यात्रा तय गरेका छैनन् तर हायस, विद्युतीय माइक्रो बस, मिनीबस जस्ता साना सवारी भने सुचारु छन् । सपना यातायात कम्पनीका सञ्चालक यातायात व्यवसायी कृष्ण घिमिरेका अनुसार सडक यातायातको भरपर्दो साधन बस १८ दिनयता रोकिएका छन्, जसको मारमा यात्रुसमेत परेका छन् ।   यात्रुले समेत धेरै क्षमताका यात्रु बोक्ने बस छोडेर ११–१४ जना मात्रै अट्ने साना सवारीमा जानुपर्दा भाडादरमा कहीँ न कहीँ ठगिनुपर्ने स्थिति रहेको छ । त्यसबाहेक यातायात व्यवसायीले १८ दिनसम्मको अवरोधमा धेरै क्षति बेहोर्नु परेको घिमिरे बताउनुहुन्छ । यातायात सञ्चालनमा आएको अवरोधपछि पीडामा भने चालक, सहचालक र सहयोगी परेका छन् । उनीहरूको दुःख सामान्य छैन । 

वन प्लस यातायात कम्पनीका भीम अधिकारीका अनुसार २८ सिट क्षमतासम्मको बस दिउँसो काठमाडौँका लागि छुट्छ । विराटनगर बसपार्कबाट एउटा मात्रै यस्तो बस छ । बाँकी बसको सिट क्षमता ३२ देखि ४२ सम्म छ । अधिकारीले सहचालकहरू घर बिदामा रहेको र सहयोगीहरू गाडीको रेखदेखमा रहेकाले कम्पनीले खाना र बस्नको प्रबन्ध मिलाउने गरेको छ । वन प्लस यातायात कम्पनीका १६ वटा गाडी छन् । काठमाडौँ जानका लागि कोशी प्रदेशका अन्य जिल्लाका सहरबाट छुट्ने ठुला बससमेत अहिले रोकिएको व्यवसायी बताउँछन् ।