इटहरी। वराहक्षेत्र नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा प्राप्तिको प्रक्रियामा अघि बढाउन निस्सा वितरणको कामलाई तीव्रता दिएको छ ।

नगरपालिकाका ११ वटै वडामा गरी कुल १० हजार ४०७ जना निस्सा पाउने प्रक्रियामा रहेको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अधिकांश वडामा निस्सा वितरण भइसकेको छ भने वडा नम्वर १, ३, ४ र ६ मा वितरण गर्न बाँकी रहेको छ । वराहक्षेत्र नगरपालिका १० ले ३६२ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको वडाध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।

नगरपालिकाका प्रशासन प्रमुख मातृका प्रसाद तिवारीका अनुसार बाँकी रहेका चारवटा वडामा पनि निस्सा वितरणका लागि आवश्यक तयारी भइरहेको छ । तयारी पूरा भएपछि ती वडामा पनि निस्सा वितरणको काम अघि बढाइने उहाँले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर १ मा एक हजार २५४, वडा नम्बर २ मा एक हजार ७१८, वडा नम्बर ३ मा एक हजार ८०९, वडा नम्बर ४ मा ४४७, वडा नम्बर ५ मा ६८३, वडा नम्बर ६ मा ५१८, वडा नम्बर ७ मा दुई हजार ४९८, वडा नम्बर ८ मा ५४९, वडा नम्बर ९ मा १४५, वडा नम्बर १० मा ३६२ र वडा नम्बर ११ मा ४२४ जना गरी कुल १० हजार ४०७ जना निस्सा पाउने प्रक्रियामा रहेका छन् ।

निस्सा वितरणपछि सम्बन्धित प्रक्रिया पूरा गरी जग्गा नापजाँच तथा जग्गाधनी पुर्जा वितरणको काम अघि बढाइने नगरपालिकाले जनाएको छ । निस्सा जग्गाधनी पुर्जा प्राप्त गर्ने प्रक्रियाका लागि आधारका रूपमा रहने प्रशासन प्रमुख तिवारीले बताउनुभयो ।