काठमाडौं । नेपाली फिल्ममा एक्सन र मनोरञ्जनलाई केन्द्रमा राखिएको बहुप्रतीक्षित फिल्म आचार्य’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ। फिल्मका निर्माता, निर्देशक तथा मुख्य अभिनेता निखिल उप्रेतीले शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच करिब साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेका हुन्।

ओएसआर डिजिटलमार्फत युट्युबमा सार्वजनिक गरिएको ट्रेलर तीव्र द्वन्द्व, आकर्षक भिजुअल र एक्सनले भरिपूर्ण छ। ट्रेलरमा समावेश संवाद तथा दृश्यहरूले फिल्म बदला, द्वन्द्व र एक्सनको कथावस्तुमा आधारित रहेको संकेत गर्छ।

ट्रेलरमा ‘तू तबाही है, मैं विनाशक हूँ’ र ‘नो रिभाइभ, नो अन, सिर्फ एक्सन’ जस्ता संवाद समावेश छन्। निखिल उप्रेतीले यसअघि ‘भैरव’मार्फत एक्सन अवतारमा दर्शकको ध्यान तानेका थिए। ‘आचार्य’मा भने उनले एक्सनलाई अझ भव्य र फरक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।

ट्रेलर सार्वजनिक कार्यक्रममा निखिलले नेपाली बजेट, नेपाली विषयवस्तु तथा स्वदेशी श्रमशक्तिको प्रयोग गरेर पनि अन्तर्राष्ट्रिय स्तरको फिल्म निर्माण गर्न सकिने बताए। नेपाली दर्शकलाई भरपूर मनोरञ्जन दिने उद्देश्यले फिल्म निर्माण गरिएको उनको भनाइ छ।

फिल्ममा निखिल उप्रेतीसँगै दक्षिण भारतीय फिल्मका कलाकार रघु बाबू र रघु करुमन्चीको विशेष अभिनय रहेको छ। त्यस्तै बलिउड कलाकार दीपराज राणासँगै नेपाली कलाकारहरू प्रमोद अग्रहरी, रोहित चौधरी, ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला र जेसिका पोखरेललगायतको अभिनय रहेको छ।

‘आचार्य’मार्फत पूर्णिका सिजापती र सजिना श्रेष्ठले नव–नायिकाका रूपमा नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन्।

एक्सनप्रधान फिल्मको द्वन्द्व निर्देशन शुक्रराज शाहले गरेका छन्। सौरभ लामा, मनु विक र नवराज थापाले छायांकन गरेका फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। फिल्मको ट्रेलर तथा टिजर सम्पादन सन्देश शाहले गरेका छन्।

असोज ९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको ‘आचार्य’लाई नेपालमा मनोज राठीले वितरण गर्दैछन्। विदेशमा भने फिल्मको वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ।

फिल्मको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।