इटहरी स् धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बन्चरेमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो सोमबार बिहान काजीमाने–धनकुटा भित्री सडकखण्डअन्तर्गत बन्चरेमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार ब्रेक फेल भएपछि सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा छथर जोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा सुमो चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्रीसहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये २१ वर्षीय आशिष लिम्बुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।
घाइते सबैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका प्रहरी उपरीक्षक नारायण रन्जितकारले जानकारी दिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

