इटहरी । मोरङको पथरी शनिश्चरे–१ स्थित अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष दुर्गा सुवेदी दंगालको अध्यक्षता तथा प्रमुख सल्लाहकार बीना राईको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो। कार्यक्रममा सचिव सिर्जना राईले आर्थिक वर्ष २०८२÷८३ को प्रगति प्रतिवेदन र २०८३÷८४ को भावी कार्ययोजना प्रस्तुत गर्नुभयो। हाल २ हजार १ सय ३१ जना सदस्य रहेको संस्थाको सेयर पूँजी १ करोड ६२ लाख ३१ हजार र बचत १२ करोड ६४ लाख रुपैयाँभन्दा बढी पुगेको जनाइएको छ। सभाले शोभा चौहानको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवगठित समितिको उपाध्यक्षमा बिन्दा बिष्ट, सचिवमा लक्ष्मी कोइराला र कोषाध्यक्षमा विष्णुमाया पनेरु चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा दुर्गा खनाल, मिना राई, ज्योति लिम्बू, मनिषा रायमाझी र फुलमाया चोङबाङ रहनुभएको छ। यसैगरी, लेखा समितिको संयोजकमा मैना देवी फुँयाल तथा सदस्यहरूमा दिलमाया कोइराला र प्रमिला बस्नेत चयन हुनुभएको छ। ३६ जना महिलाबाट सुरु भएको संस्थाले उत्कृष्ट पहिचान बनाएको भन्दै प्रमुख अतिथि राई र अध्यक्ष दंगालले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

