इटहरी। मोरङको उर्लाबारीका चर्चित पूर्वफुटबल खेलाडी तथा अखिल नेपाल फुटबल संघ ९एन्फा०का केन्द्रीय सदस्य दीपेन्द्र धिमालको निधन भएको छ ।

‘ड्राइभर’ उपनामले परिचित ५९ वर्षीय धिमालको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो । उर्लाबारी नगरपालिका–६ निवासी धिमालको निधन बिहान करिब ५ः३० बजेतिर स्थानीय अरनिको अस्पतालमा भएको उर्लाबारी फुटबल क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिए । धिमाल केही समयदेखि प्यान्क्रियाजलगायत स्वास्थ्य समस्याबाट पीडित थिए । केही समयअघि भारतको हैदरवादमा उपचार गराएर फर्किएका उनी थप उपचारका लागि आइतबार पुनः भारत जाने तयारीमा थिए । तर, बुधबार साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अरनिको अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारका क्रममा उनको रक्तमा चिनीको मात्रा घट्ने, ज्वरो आउने र वान्ता हुने समस्या देखिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ । धिमालको पार्थिव शरीरको दाहसंस्कार छोरी विदेशबाट आएपछि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

फुटबलमा आक्रामक खेलशैली र मैदानमा बललाई नियन्त्रण गर्दै अघि बढाउने क्षमताका कारण धिमाल ‘ड्राइभर’ नामले चर्चित बनेका थिए । गाडीलाई चालकले आफ्नो नियन्त्रणमा राखेर गन्तव्यतर्फ लैजाने शैलीजस्तै उनले मैदानमा फुटबललाई अघि बढाउने भएकाले साथीभाइ र खेलप्रेमीले उनलाई ‘ड्राइभर’ भनेर बोलाउने गरेको भण्डारीले बताए । राष्ट्रिय टोलीबाट खेल्ने अवसर नपाए पनि धिमाल मोफसलका चर्चित फुटबल खेलाडी थिए । उनले जनकपुर चुरोट कारखाना ९जचुकाली० र थ्रीस्टारलगायत चर्चित क्लबबाट खेलिसकेका थिए । भारतको पश्चिम बंगाल लिगमा समेत उनले स्थानीय क्लबबाट प्रतिस्पर्धा गरेका थिए ।

खेलाडी जीवनपछि पनि धिमाल फुटबलसँग निरन्तर जोडिए । उर्लाबारी फुटबल क्लबको अध्यक्षबाट फुटबल प्रशासनमा सक्रिय भएका उनी मोरङ जिल्ला फुटबल संघको सदस्य हुँदै दुई कार्यकाल महासचिव र तीन कार्यकाल अध्यक्ष बनेका थिए । त्यसपछि उनी एन्फाको केन्द्रीय सदस्य भएका हुन् । मोफसलमा फुटबलको विकास र संगठन विस्तारमा सक्रिय धिमालको निधनले स्थानीयदेखि राष्ट्रिय फुटबल क्षेत्रमा शोक छाएको भण्डारीले बताए । उनका अनुसार धिमालको निधनले मोफसलको फुटबलमा ठूलो क्षति पुगेको छ ।