इटहरी स् एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक आयोजनाको पश्चिम खण्डमा निर्माण भइरहेका तीन आधुनिक पुलको काम आवश्यक स्टिलको अभावमा प्रभावित भएको छ।
आयोजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवा तथा मोरङका लोहन्द्रा र बक्राहा नदीमा ‘स्टिल आर्क’ प्रविधिमा आधारित पुल निर्माण भइरहेको छ। पुल निर्माणमा आवश्यक पर्ने ४२० ग्रेडको गुणस्तरीय स्टिल समयमै आपूर्ति हुन नसक्दा निर्माणको गति प्रभावित भएको आयोजना प्रमुख जगत प्रजापतिले बताए। पुल निर्माणका लागि आवश्यक ४२० ग्रेडको स्टिल नेपालमै पर्याप्त मात्रामा उपलब्ध छैन। त्यसैले भारतबाट अर्डर गरेर स्टिल ल्याउनुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ। तातोपानी नाका बन्द भएपछि केरुङ–रसुवागढी नाका हुँदै स्टिल ल्याउने गरिएको थियो। तर गत साउन १० गते भोटेकोशीमा आएको बाढीका कारण सडक अवरुद्ध भएपछि उक्त नाकाबाट स्टिल आपूर्ति पूर्णरूपमा रोकिएको प्रजापतिले बताए।
‘अहिले भारतबाट अर्डर गरेर मात्र पुल निर्माणमा चाहिने स्टिल ल्याउने गरेका छौँ,’ उनले भने, ‘नेपालमा गुणस्तरीय ४२० ग्रेडको स्टिल पाइँदैन। अर्डर गर्नुपरेकाले भारतबाट समेत भनेको समयमा नआउँदा समस्या भएको छ।’ आयोजनाका अनुसार तीनवटै पुलको हालसम्मको भौतिक प्रगति करिब ४० प्रतिशत पुगेको छ। त्यसमध्ये झापाको रतुवा नदीमा निर्माण भइरहेको पुलको काम भने ५२ प्रतिशत पूरा भएको छ। सम्झौताअनुसार तीनवटै पुलको निर्माण आगामी २०८३ माघ १ गतेभित्र सम्पन्न गर्नुपर्नेछ। तर निर्माण सामग्रीको आपूर्तिमा देखिएको समस्याका कारण तोकिएको समयभित्र काम सम्पन्न गर्न चुनौती देखिएको आयोजना प्रमुख प्रजापतिले बताए।
रतुवामा ५८५ मिटर लामो ‘सिग्नेचर’ पुल
एसियाली राजमार्गअन्तर्गत झापाको रतुवा नदीमा ५८५ मिटर लामो ‘सिग्नेचर’ पुल निर्माण भइरहेको छ। पुलको २६४ मिटर भाग स्टिल आर्क संरचनामा आधारित हुनेछ भने बाँकी भाग कङ्क्रिटबाट निर्माण गरिनेछ। पुलमा तीनवटा स्पान रहनेछन्। मोरङको लोहन्द्रा नदीमा ३८५ मिटर लामो पुल निर्माण भइरहेको छ। उक्त पुलमा ८०–८० मिटरका दुईवटा स्टिल स्पान रहनेछन्। त्यस्तै, बक्राहा नदीमा निर्माण भइरहेको पुलको लम्बाइ ३१८ मिटर छ। उक्त पुलमा पनि दुईवटा स्पान रहने आयोजनाले जनाएको छ। तीनवटै पुलमा आधुनिक स्टिल आर्क प्रविधि प्रयोग गरिनेछ। पुल निर्माणका लागि आवश्यक स्टिल संरचनासम्बन्धी उच्च प्राविधिक काम चिनियाँ कम्पनीले गर्नेछ भने अन्य सिभिल निर्माणका काम नेपाली साझेदार कम्पनीले गरिरहेको आयोजना प्रमुख प्रजापतिले बताए। तीनवटै पुल निर्माणको ठेक्का कोभेक–सिआरइजिसी–चाइना स्टेट सेभेन्थ जेभीले करिब ५ अर्ब रुपैयाँमा लिएको हो।
रतुवा पुललाई प्राथमिकता
वर्षायाममा समेत पुल निर्माणको काम जारी राखिएको छ। अहिले आयोजनाले झापाको रतुवा नदीमा निर्माण भइरहेको पुललाई प्राथमिकतामा राखेको छ। रतुवा पुलको निर्माण पूरा भएपछि लोहन्द्रा र बक्राहा नदीमा निर्माण भइरहेका पुलको कामलाई थप तीव्रता दिने तयारी रहेको आयोजनाले जनाएको छ। तीनवटै पुल झापाको सितापुरीदेखि मोरङको गोठगाउँसम्मको करिब ४० किलोमिटर सडक खण्डमा निर्माण भइरहेका छन्। एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडकको उक्त खण्डमा पुल निर्माण सम्पन्न भएपछि यातायात सञ्चालन र आवागमन सहज हुने अपेक्षा गरिएको छ। तर निर्माणमा प्रयोग हुने गुणस्तरीय स्टिलको आपूर्तिमा देखिएको समस्या समाधान नभए तोकिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्न चुनौती थपिने देखिएको छ।


