इटहरी । बराहक्षेत्र मन्टेस्वरी एसोसिएसनको आयोजनामा बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ ‘किड्स ट्यालेन्ट फेस्ट २०८३’ सम्पन्न भएको छ।

बराहक्षेत्र–५, कालाबन्जरस्थित बराह मन्टेस्वरी एकेडेमीको प्राङ्गणमा आयोजित कार्यक्रममा चित्रकला, नृत्य, अङ्ग्रेजी वक्तृत्वकला तथा हस्तलेखन लगायतका विधामा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा बराह मन्टेस्वरी एकेडेमी, कोकोमेलान मन्टेस्वरी र ए के मन्टेस्वरीका बालबालिकाहरूले सहभागिता जनाएका थिए । 

एसोसिएसनका अध्यक्ष एवम् सभाध्यक्ष हरेन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार राई प्रमुख अतिथि रहनुभएको थियो। उपप्रमुख राईले बालबालिकाको जगैदेखि प्रतिभा पहिचान गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने भन्दै नगरपालिकाबाट आवश्यक सहयोग र तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा नेपाल मन्टेस्वरी एसोसिएसनका केन्द्रीय सचिव दिपेश राउत तथा बराहक्षेत्र प्याबसन नगर सचिव अवियोग राई विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

एसोसिएसनकी सचिव सोम माया (शुष्मा) लिम्बुले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कोषाध्यक्ष कृष्टिना श्रेष्ठ र सदस्य सविता राई सहित सञ्चारकर्मी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय तथा बालबालिकाहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।