इटहरी स्  विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भाग्ने क्रममा दुई तलामाथिबाट हामफाल्दा एक जना घाइते भएका छन् । प्रहरीले तास खेलिरहेको आरोपमा घाइतेसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेका बेला प्रहरी पुगेपछि भागदौड मच्चिएको हो । प्रहरीलाई देखेपछि भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घरको दुई तलाबाट हामफालेका थिए । हामफाल्दा मुखियाको दाहिने खुट्टा भाँचिएको छ । उनी एम्बुलेन्स चालकसमेत रहेको प्रहरीले जनाएको छ । प्रहरी निगरानीमा विराटनगरस्थित श्री अस्पतालमा उपचाररत उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

राति करिब ११ः३० बजेतिर प्रहरी टोली गस्ती गर्दै सरोचिया पुगेको थियो । त्यही बेला मानिसहरू होहल्ला गर्दै भागिरहेको देखेपछि प्रहरी घटनास्थल पुग्यो । पासवानको घरमा पुगेर बुझ्दा तास खेलिरहेको खुलेको र प्रहरी आएको देखेपछि भाग्ने क्रममा होहल्ला भएको पाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । प्रहरीले घटनास्थलबाट मुखियासहित ८ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी र ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत तथा विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले तास र नगद ४८ हजार ३ सय ९५ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको एसपी कटवालले बताए । प्रहरी टोली पुगेपछि भएको भागदौडमा अन्य केही व्यक्तिलाई समेत सामान्य चोट लागेको बताइएको छ । स्थानीयका अनुसार पासवानको घरमा नियमितजस्तै तास खेल्नका लागि जमघट हुने गरेको थियो । प्रहरीका अनुसार उक्त स्थानमा तास खेल्न अन्य स्थानबाट समेत मानिसहरू आउने गरेको पाइएको छ ।