इटहरी। कोशी प्रदेश योजना आयोगका नवनियुक्त सदस्य तोयानाथ खतिवडा ‘रुपेश’ र हरिकुमारी राईले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उहाँहरूलाई शपथ ग्रहण गराउनुभएको हो । यसअघि बिहीबार अपराह्न बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले विराटनगर–३ निवासी खतिवडा र खोटाङकी राईलाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसअघिको सत्ता गठबन्धनका तर्फबाट नियुक्त नेपाली कांग्रेसनिकट दुई सदस्यले राजीनामा दिएपछि रिक्त रहेको पदमा उहाँहरू नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद् बैठकले आयोगका सदस्य नियुक्त गर्नुका साथै यसअघि असोज २२ र २३ गतेका लागि तय गरिएको मुख्यमन्त्री सम्मेलनको मिति पनि सारेको छ । अब सम्मेलन असोज २७ र २८ गते आयोजना गर्ने निर्णय भएको छ ।


