इटहरी। सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित नाटक शनिबारदेखि विराटनगरमा मञ्चन सुरु भएको छ । कान्तिपुर थिएटरले पहिलोपटक विराटनगर ल्याएको नाटकको पहिलो शोमै दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ ।
वीरेन्द्र सभागृहमा मञ्चन भइरहेको नाटकमा उपन्यासका चर्चित पात्र अतीत र सायालाई रंगमञ्चमा प्रत्यक्ष अभिनयमार्फत प्रस्तुत गरिएको छ । प्रेम, आकर्षण, प्रतीक्षा, दूरी र बिछोडका भावनालाई कलाकारको अभिनयसँगै प्रकाश, संगीत र दृश्य संयोजनमार्फत प्रस्तुत गरिएको छ । विराटनगरमा शनिबार र आइतबार दुई दिन नाटक मञ्चन हुनेछ । आयोजकका अनुसार दुवै दिन बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी छ वटा शो तय गरिएको छ ।
पहिलो दिनको पहिलो शोमै युवायुवतीको उल्लेख्य उपस्थिति थियो । उपन्यास पढेका दर्शकका लागि आफूले मनमा कल्पना गरेका पात्रलाई प्रत्यक्ष रंगमञ्चमा हेर्ने अवसर बनेको छ भने पुस्तक नपढेका दर्शकले प्रेम र सम्बन्धका विभिन्न मनोभावलाई नाटकमार्फत अनुभव गर्ने अवसर पाएका छन् । नाटकमा सागर खनाल अतीत शर्मा र बास्ना तिम्सिना साया शाक्यका रूपमा देखिएका छन् । विनीता घिमिरे, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईंलगायत कलाकारले पनि अभिनय गरेका छन् । चलचित्र निर्देशक तथा अभिनेता अर्पण थापाले पहिलोपटक रंगमञ्चमा अभिनय गरेका छन् ।
सम्राट भुजेलको नाट्य रूपान्तरण तथा निर्देशनमा तयार भएको नाटक करिब १ घण्टा ५० मिनेट लामो छ । निर्देशक भुजेलले ‘समर लभ’लाई प्रेम, समय, दूरी र सम्झनाबीचको भावनात्मक यात्राका रूपमा प्रस्तुत गरिएको बताए । उपन्यासकार सुविन भट्टराईले विराटनगरमा ‘समर लभ’को मञ्चनलाई विशेष रूपमा लिएको बताए । काठमाडौंमा मात्रै केन्द्रित रहेको ‘समर लभ’ पहिलोपटक विराटनगर आइपुगेको उल्लेख गर्दै उनले काठमाडौंमा जस्तै विराटनगरका दर्शकबाट पनि माया पाउने अपेक्षा व्यक्त गरे ।
कान्तिपुर थिएटरको यो छैटौँ प्रस्तुति हो । यसअघि विराटनगरमा मञ्चन गरिएको ‘सेतो धरती’ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएपछि त्यसकै निरन्तरतामा ‘समर लभ’ ल्याइएको थिएटरका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले बताए । काठमाडौं बाहिरका दर्शकमाझ नेपाली रंगमञ्च विस्तार गर्ने उद्देश्यले विभिन्न सहरमा नाटक प्रस्तुत गर्ने तयारी भइरहेको पुरीले बताए । करिब डेढ दशकअघि प्रकाशित ‘समर लभ’को लोकप्रियता अझै युवा पुस्तामाझ कायम रहेको उनको भनाइ छ । नाटकको टिकट दर ३००, ५०० र १ हजार रुपैयाँ तोकिएको छ । टिकट कान्तिपुर थिएटरको वेबसाइटबाट बुक गर्न सकिने आयोजकले जनाएको छ ।


