इटहरी। सुनसरीको इनरुवामा काउलीभित्र लुकाएर लैजाँदै गरेको २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ।
इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा आइतबार राति ११ः५० बजेतिर चेकजाँच गर्ने क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट उक्त गाँजा बरामद गरिएको सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर हेमराज ओलीले बताए। उनका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राईले चलाएको ट्रक पूर्वबाट पश्चिमतर्फ जाँदै थियो। ट्रकको पछाडिको भागमा काउली राखिएको थियो भने काउलीको बीचमा लुकाएर ८३ वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला परेको ओलीले बताए।
प्रहरीले ट्रक नियन्त्रणमा लिएर चालक राईसँगै सहचालक सहिदभूमि गाउँपालिका–२ का १८ वर्षीय सदीप राईलाई पक्राउ गरेको छ।यसअघि तौल लिनुअघि प्रहरीले बरामद गाँजा करिब २ हजार ४ सय ९० किलो हुन सक्ने अनुमान गरेको थियो। तर तौल गर्दा गाँजा २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम रहेको पुष्टि भएको इन्स्पेक्टर ओलीले बताए। पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।
बरामद गाँजा, ट्रक, चालक र सहचालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। तरकारीको आडमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको खुलेपछि प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। गाँजा कहाँबाट ल्याइएको र कुन ठाउँमा लैजान लागिएको थियो भन्ने विषय भने अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार धनकुटासहित पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारततर्फ लैजान तरकारी बोकेको ट्रकमा लुकाएर ल्याइएको हुन सक्ने देखिएको छ।


