इटहरी। मासु बजारको उचित व्यवस्थापन नहुँदा उदयपुरका ग्रामीण क्षेत्रका किसानले परम्परागत रूपमा पाल्दै आएका खसी हचुवाको भरमा बेच्न बाध्य छन् । गाउँघरका किसानले पालेका खसीबोकाको तौल गरेर बिक्रीवितरण गर्ने माध्यम नहुँदा घाटा भए पनि बर्सेनि मोलमोलाइमा बिक्री गर्ने गरेको किसान बताउँछन् ।
उदयपुरका पहाडी क्षेत्रमा पराम्परागत रूपमा खसी पाल्ने किसान सबैको पीडा यस्तै छ । अहिले उदयपुरको ग्रामीण क्षेत्रमा खसीको मासुको मूल्य प्रतिकिलो नौ सय रुपियाँ छ । जुन मूल्य गाईघाट, कटारी, बेल्टारलगायतका बजारक्षेत्रमा काटेर मासु बिक्री गर्दा दुई सयभन्दा बढी पाइन्छ । ‘पहाडी क्षेत्रका गाउँमा पनि विभिन्न समूह तथा कृषक सहकारीले मासुको मूल्य नौ सयदेखि हजार रुपियाँ तोकेका छन् । स्थानीय किसान गोविन्द कार्कीका अनुसार गाउँका किसानले दसैँको गर्जो टार्न खसी बेच्छन् । बिकेन भने दसैँ मान्ने पैसा हुँदैन । त्यसैले व्यापारीकै मूल्यमा दिनु पर्छ । सस्तो महँगोभन्दा पनि किन्नेले अनुमानित गरेको किलोका आधारमा व्यापारीले लग्ने गरेको किसान गुनासो गर्छन् । हचुवाको भरमा बेच्दा एउटा खसीमा कम्तीमा दुई हजारदेखि तीन हजार रुपियाँसम्म घाटा हुने गरेको बताउनुभयो ।
उदयपुरका पहाडी क्षेत्रका अधिकांश किसानकोे दसैँ खर्च टार्ने माध्यम खसी हो । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका छोराछोरीको भरथेग हुन थालेको छ । पहाडी क्षेत्रमा खसी पालेर बर्सेनि एकदेखि तीन लाख रुपियाँसम्म पैसा लिने किसान पनि भेटिन्छन् । हचुवाकै भरमा बेच्ने र किन्ने गरेकाले किसानले मात्र होइन व्यापारीले पनि घाटा बेहोर्नु परेको छ ।रानाका अनुसार गाउँमा खसीलगायत घरपालुवा पशुपन्छी बिक्री गर्दा जोख्ने किलोकाँटा नभएकाले समस्या भएको छ ।


