इटहरी स्  झापामा चाडपर्व लक्षित बजार अनुगमनलाई प्रशासनले तीव्रता दिएको छ। कनकाईको सुरुङ्गा र मेचीनगरका बजारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ। अखाद्य अमिलोजन्य पदार्थ बिक्रीका लागि राखेको भेटिएपछि एक व्यवसायीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय झापाले सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा बजारमा अनुगमन गरेको थियो। घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधिसहितको टोलीले बजारका विभिन्न पसलको निरीक्षण गरेको हो। अनुगमनका क्रममा अधिकारी किराना पसलबाट चार हजार १७० रुपैयाँ मूल्य बराबरका म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी नष्ट गरिएको प्रशासनले जनाएको छ। गोरखा सपिङ कम्प्लेक्सलाई नापतौलमा प्रयोग हुने ढक–तराजुको प्रमाणपत्र समयमै नवीकरण गर्न निर्देशन दिइएको छ।

न्यू सङ्गीता ज्वेलरी, पाथीभरा देवी ज्वेलर्स, महालक्ष्मी डेरी पसल र लक्ष्मी पूजा भण्डारको अनुगमन गर्दा तत्काल कारबाही गर्नुपर्ने अवस्था नदेखिएको प्रशासनले जनाएको छ। यसैगरी अर्जुनधारा नगरपालिका–११ स्थित श्रीराम अमिलो भण्डारबाट दुई लाख २० हजार रुपैयाँ मूल्य बराबरका अखाद्य अमिलोजन्य पदार्थ बरामद गरिएको छ। ती सामग्री नष्ट गर्नुका साथै उद्योग सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मेचीनगरमा १२ पसलको अनुगमन

मेचीनगर नगरपालिकाले पनि जिल्लाका सरोकारवाला निकायसँगको समन्वयमा बुधबार इटाभट्टा र काँकडभिट्टा बजारमा अनुगमन गरेको छ। खाद्य विश्लेषक दीपेन्द्र कार्कीको नेतृत्वमा पेट्रोल पम्प, एग्रोभेट, सुन तथा खाद्यान्न पसलको निरीक्षण गरिएको हो। टोलीले पूर्वाञ्चल पेट्रोलियम सेन्टर, प्रनिक आयल स्टोर, हिरा–लक्ष्मी किराना पसल, सहारा भेटेरिनरी औषधि पसल, मेची किराना पसल, काँकडभिट्टा कोल सेन्टर, अनुस्का किराना पसल, थापा किराना पसल, मेची मिट मार्ट, सुरज ज्वेलरी, रामलाल ज्वेलरी र माँ लक्ष्मी ज्वेलरीमा अनुगमन गरेको थियो।

दुई पेट्रोल पम्पमा पाँच लिटर क्षमताको चेक मेजरबाट नापजाँच गर्दा मापदण्डअनुसार रहेको पाइएको नगरपालिकाले जनाएको छ। खाद्यान्न पसल तथा मिट मार्टको निरीक्षणका क्रममा केही म्याद गुज्रिएका सामग्री बरामद गरिएको थियो। अनुगमन टोलीले नयाँ व्यवसाय दर्ता तथा नवीकरण गर्नुपर्ने व्यवसायीलाई प्रक्रिया पूरा गर्नसमेत सुझाव दिएको छ। चाडपर्वका बेला उपभोक्ता ठगिन नदिन र गुणस्तरहीन तथा म्याद गुज्रिएका वस्तुको बिक्री रोक्न बजार अनुगमनलाई निरन्तरता दिइने सम्बन्धित निकायले जनाएको छ।