इटहरी स् महिलालाई आफ्ना कानुनी अधिकार, संवैधानिक संरक्षण तथा न्याय प्राप्त गर्ने उपायबारे सचेत गराउने उद्देश्यले विराटनगर–२० मा ‘महिला कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम’ सम्पन्न भएको छ।

सामाजिक उत्तरदायित्वको भावनासहित श्रेया बिष्टको व्यक्तिगत पहलमा सञ्चालित कार्यक्रममा करिब ५० जना महिलाको प्रत्यक्ष सहभागिता रहेको थियो। कार्यक्रमले महिलालाई आफ्नो तथा परिवारका सदस्यका कानुनी अधिकारबारे जानकारी गराउँदै अधिकारका लागि आवाज उठाउने आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रममा विभिन्न विज्ञ तथा प्रशिक्षकले समसामयिक कानुनी तथा सामाजिक विषयमा प्रशिक्षण दिएका थिए। श्रेया बिष्टले बलात्कार, बाल दुर्व्यवहार तथा अन्तर्राष्ट्रिय कानुन र अभ्यासका विषयमा जानकारी गराएकी थिइन्। त्यस्तै, अनिश कुमार कट्टेलले समावेशिता, महिलाको सम्पत्तिमाथिको अधिकार, नेपालको संविधान, विधिको शासन तथा राजनीतिक क्षेत्रमा महिलाको सहभागिताका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा बिशेष अछामीले महिला समावेशिता तथा कानुनी खाडल, स्वस्तिका मल्लले घरेलु हिंसा, माङ्सा लिम्बूले प्रजनन स्वास्थ्य, मातृ सुविधा तथा सम्बन्धित कानुनी व्यवस्था, अबिना कटवालले वैवाहिक बलात्कार, पूर्णिमा निरौलाले साइबर तथा डिजिटल अपराध तथा स्मृति राईले बाल अधिकारसम्बन्धी विषयमा सहभागीलाई सचेत गराएका थिए। कार्यक्रममा महिलाले आफ्ना अधिकार, कानुनी उपचारका बाटा तथा विभिन्न सामाजिक समस्यासँग सम्बन्धित विषयमा प्रत्यक्ष रूपमा जानकारी लिने अवसर पाएका थिए।

आयोजकका अनुसार महिलामा कानुनी ज्ञानको विस्तार, आत्मविश्वास अभिवृद्धि तथा समानता, सम्मान र न्यायमा पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले महिलालाई आफ्ना अधिकारबारे सचेत हुँदै आवश्यक अवस्थामा कानुनी उपचार खोज्न र अधिकारका लागि आवाज उठाउन प्रेरित गरेको आयोजकको भनाइ छ।