इटहरी । कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेड, इटहरी–१ आँपगाछीको आगामी कार्यकालका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा यादव ढकाल निर्विरोध भएका छन्।
निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्ष पदमा ढकालको मात्रै उम्मेदवारी कायम भएपछि उनी निर्विरोध हुने निश्चित भएको हो। संस्थाको निर्वाचन असोज २५ गते हुने कार्यतालिका छ।
अध्यक्षमा निर्विरोध भए पनि उपाध्यक्ष, सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका विभिन्न पदमा भने चुनावी प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्ष पदमा छथरजोरपाटी–६ का नगेन्द्रजंग थापा र लालीगुँरास–३ का ईन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुँदैछ।
सञ्चालक समितिको खुला सदस्यतर्फ विनोदप्रसाद गुरागाईँ, विज्ञान ढुंगाना, देवबहादुर कार्की, राजेन्द्र अधिकारी, लोचन पौडेल, गोविन्दबहादुर बस्नेत, धनबहादुर कटुवाल र भिमशंकर अधिकारी ‘राजु’ गरी आठ जना उम्मेदवार छन्।
महिला सञ्चालक सदस्यतर्फ दुर्गा अधिकारी, मूर्तिकुमारी भगत चौधरी, पदमदेवी बस्नेत, दिपा प्याकुरेल ओझा, सीतादेवी फुयाँल र शारदा खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ।
यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजक पदमा देवीप्रसाद भट्टराई र पदम सुवेदी आमनेसामने छन्। सदस्य पदमा बाबुराम कार्की, डण्डबहादुर खड्का, मनोज दाहाल र लोकेन्द्र काफ्ले उम्मेदवार बनेका छन्।
निर्वाचन समितिका अनुसार उम्मेदवारहरूले असोज २४ गते शनिबार बिहान ११ बजे निर्वाचन कार्यालयबाट उम्मेदवारी परिचयपत्र तथा नमुना मतपत्र लिन सक्नेछन्।
प्रमुख निर्वाचन अधिकृत मेदनकुमार घिमिरेका अनुसार निर्धारित कार्यतालिकाअनुसार असोज २५ गते मतदान हुनेछ। निर्वाचनबाट सहकारीको आगामी कार्यकालका लागि सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरिनेछ।
दुग्ध उत्पादक किसानसँग प्रत्यक्ष रूपमा जोडिएको कामधेनु दुग्ध विकास सहकारीको नेतृत्व चयनलाई सदस्यहरूले चासोका साथ हेरेका छन्। अध्यक्षमा निर्विरोध भएसँगै अब उपाध्यक्षसहित अन्य पदको निर्वाचनमा प्रतिस्पर्धा केन्द्रित भएको छ।


