इटहरी। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४, साँवास्थित पर्यटकीयस्थल फङफङदेन झरनामा आयोजित अलैँची कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि धरानको मरिक एफसीले जितेको छ।

आइतबार सम्पन्न फाइनल खेलमा तेह्रथुमको फेदाप गाउँपालिकालाई ट्राइबेकरमा ६–५ गोल अन्तरले पराजित गर्दै मरिक एफसीले उपाधि चुमेको हो। निर्धारित समयमा दुवै टोलीले एक–एक गोल गरेपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो। उपाधिसँगै मरिक एफसीले तीन लाख दुई हजार ८३ रुपियाँ बराबरको अलैँची, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता फेदाप गाउँपालिकाले एक लाख ५२ हजार ८३ रुपियाँ बराबरको अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा मरिक एफसीका मिलन लिम्बू उत्कृष्ट खेलाडी घोषित हुनुभयो। उहाँले पाँच हजार रुपियाँ बराबरको अलैँची पुरस्कार प्राप्त गर्नुभयो । यस्तै, उत्कृष्ट गोलकिपर मरिक एफसीकै विपुल मगर, उत्कृष्ट डिफेन्डर फेदाप गाउँपालिकाका जङ्ग खड्का र सर्वाधिक गोलकर्ता मरिक एफसीका कृष्ण राई घोषित हुनुभयो। उहाँहरूलाई जनही तीन हजार रुपियाँ बराबरको अलैँची प्रदान गरिएको आयोजकले जनाएको छ। यसअघि शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा मरिक एफसीले पाँचथरको कुम्मायक कुस्सायक स्पोर्टिङ क्लबलाई ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । शुक्रबार भएको पहिलो सेमिफाइनलमा फेदाप गाउँपालिकाले आयोजक फङफङदेन झरना पर्यटन विकास समितिलाई १–० गोलले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

फङफङदेन झरना पर्यटन विकास समितिको आयोजनामा मङ्सिर २ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल आइतबार सम्पन्न भएको हो ।ताप्लेजुङको प्रमुख नगदेबाली अलैँचीलाई खेलकुद र पर्यटनसँग जोडेर यसको बजार विस्तार तथा पहिचान प्रवर्धन गर्ने र फङफङदेन झरनालाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष विजय साँवाले बताउनुभयो।