इटहरी। उदयपुरको चौदण्डीगढी नगरपालिकाले २०७९ सालमा निर्वाचित जनप्रतिनिधि नेतृत्वमा आएपछि चार वर्षमा भएका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। सीमित स्रोतसाधनका बीच नागरिकका असीमित आवश्यकता सम्बोधन गर्ने प्रयासस्वरूप पूर्वाधार विकासदेखि सामाजिक क्षेत्रसम्म विभिन्न काम सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ।

सोमबार पत्रकार सम्मेलन गरी नगरपालिकाले चार वर्षको कार्यकालमा भएका कामको विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनुसार सडक पूर्वाधार, विद्युत् विस्तार, सिँचाइ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिएको छ। पूर्वाधार विकासतर्फ नगरपालिकाले १९ हजार ६१५ मिटर सडक कालोपत्रे, ६२९ मिटर सडक ढलान तथा १ लाख ६७ हजार ५४९ मिटर सडक ग्राभेल गरेको जनाएको छ। यस अवधिमा नयाँ सडक ट्र्याक निर्माण, सडक मर्मत, ढल तथा नाली निर्माण, कल्भर्ट र पुल निर्माण, स्वास्थ्य संस्था तथा विद्यालय भवन निर्माण र कभर्ड हल निर्माणलगायतका काम गरिएको विवरणमा उल्लेख छ।

विद्युत् तथा उज्यालो विस्तारतर्फ ४६५ वटा विद्युत् पोल, १० वटा ट्रान्सफर्मर, २५ वटा हाइमास्ट लाइट तथा ६८० वटा सडकबत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ। सिँचाइतर्फ पनि विभिन्न योजना सञ्चालन गरी कृषि उत्पादनमा सहयोग पुर्‍याउने प्रयास गरिएको उल्लेख छ। नगरपालिकाले पर्यटन प्रवर्द्धन, महिला तथा बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, सामाजिक सुरक्षा, अपाङ्गता परिचयपत्र वितरण तथा सहायक सामग्री उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको जनाएको छ। त्यसैगरी उद्यम विकास तथा स्वरोजगार प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, बजार व्यवस्थापन, कृषि तथा पशु विकास, सुरक्षित आप्रवासन र रोजगार सेवा केन्द्र सञ्चालनलगायतका क्षेत्रमा पनि काम गरिएको विवरण सार्वजनिक गरिएको छ। न्यायिक समितिमार्फत नागरिकका विवाद समाधानमा समेत काम भइरहेको नगरपालिकाले जनाएको छ। नगरप्रमुख कालुमान लामाका अनुसार न्यायिक शाखामा हालसम्म १२० वटा मुद्दा दर्ता भएकामा ८९ वटा फर्छ्योट भएका छन् भने ३१ वटा प्रक्रियामा छन्।