इटहरी । गाँजा तस्करीमा प्रहरी, जनप्रतिनिधि र राजनीतिक नेतृत्वको संलग्नता रहेको आरोपसहित भिडियो सार्वजनिक भएपछि धनकुटा प्रहरी स्पष्टीकरण दिन बाध्य भएको छ । यसअघि सञ्चार माध्यमले प्रकाशित गरेको समाचार र प्रशारित भिडियोमा साँगुरीगढी गाउँपालिकाका जनप्रतिनिधिसमेत जोडिएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले भिडियोको सत्यतामाथि प्रश्न उठाउँदै औपचारिक प्रेस विज्ञप्ति जारी गरेको हो ।

हिजो जारी विज्ञप्तिमा उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । भिडियोमा गाँजा तस्करीसँग प्रहरी, जनप्रतिनिधि र नेताहरू जोडिएको दाबी गरिएको विषयमा सत्यतथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।प्रहरीका अनुसार साँगुरीगढी गाउँपालिका–१० का वडाध्यक्ष एकराज राईले कार्यालयमा उपस्थित भएर भिडियोमा देखाइएको दृश्य करिब तीन वर्षअघि सडक निर्माणका क्रममा भएको छलफलको भएको बताएका छन् । सडक निर्माणसम्बन्धी पुरानो भिडियो एआई प्रविधि प्रयोग गरी वास्तविक दृश्यलाई तोडमोड गरेर गलत घटनाको विवरणसहित प्रसारण गरिएको वडाध्यक्षले प्रहरीलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले भिडियोको वास्तविकता पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाएको छ । तर, गाँजा तस्करीको आरोपसहित सार्वजनिक भएको भिडियोबारे प्रहरीले विज्ञप्तिमार्फत खण्डन र स्पष्टीकरण दिनुपर्ने अवस्था आएपछि विषयले थप चर्चा पाएको छ ।

गाँजा बरामदमा प्रहरीको सक्रियता, तस्करीको सञ्जालमाथि प्रश्न

कोशी प्रदेशमा गाँजा तस्करी नियन्त्रणका लागि प्रहरीले अभियान चलाइरहेको छ । गाँजा खेती हुने पहाडी जिल्लामा बोट फडानीदेखि ढुवानीका क्रममा बरामदगी र कारोबारी पक्राउसम्मका कारबाही भइरहेका छन् । तर, ठूलो परिमाणमा गाँजा बरामद भइरहनुले तस्करीको सञ्जाल अझै सक्रिय रहेको देखाउँछ । प्रहरी तथ्यांकअनुसार कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८३÷८४ को साउनदेखि कात्तिक मसान्तसम्म आठ जिल्लाबाट ३१ हजार ८२० किलो ३४ ग्राम गाँजा बरामद भएको छ । गाँजा ओसारपसार तथा कारोबारमा संलग्न रहेको आरोपमा ९६ जना पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा २६ हजार ७०५ किलो ५३८ ग्राम गाँजा बरामद भएको थियो भने १०२ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८२÷८३ मा २७ हजार ६९३ किलो ५७० ग्राम गाँजा बरामद हुँदा ९२ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षको चार महिनामै अघिल्ला दुई वर्षको वार्षिक बरामद परिमाणलाई उछिनेको छ । गाँजा बरामदको परिमाण बढ्नु प्रहरीको सक्रियता र कारबाहीको परिणाम हुन सक्छ । तर, पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा संकलन, भण्डारण, ढुवानी र सीमापार तस्करीको सञ्जाल नियन्त्रणमा आउन नसक्नुले कारबाहीको प्रभावकारितामाथि पनि प्रश्न उठाउँछ ।

फडानीदेखि पक्राउसम्म, तर तस्करीको जरो उखेलिएन

धनकुटा, भोजपुर, संखुवासभालगायत पहाडी जिल्लामा गाँजा उत्पादन तथा संकलन हुने गरेको छ । पहाडबाट संकलित गाँजा तराईका जिल्लामा ल्याएर भण्डारण गर्ने र भारततर्फ तस्करी गर्ने सञ्जाल सक्रिय रहेको विभिन्न बरामदगीका घटनाले देखाउँदै आएका छन् । गाँजा ओसारपसारमा एम्बुलेन्स, ट्रक, पिकअप र अन्य सवारीसाधन प्रयोग हुने गरेका छन् । प्रहरीले गाँजा खेती नष्ट गर्ने, तस्करीमा प्रयोग भएका सवारी नियन्त्रणमा लिने र कारोबारी पक्राउ गर्ने अभियान चलाए पनि उत्पादनदेखि बजारसम्म जोडिएको सञ्जाल नियन्त्रणमा लिन चुनौती देखिएको छ । यही पृष्ठभूमिमा गाँजा तस्करीमा प्रहरी तथा राजनीतिक पहुँच भएका व्यक्तिको संलग्नता रहेको आरोपसहित भिडियो सार्वजनिक भएको घटनाले प्रहरीमाथि थप प्रश्न उठाएको छ । भिडियो एआईबाट बनाइएको वा पुरानो दृश्यलाई तोडमोड गरिएको प्रहरीको दाबी अनुसन्धानबाट पुष्टि हुनुपर्नेछ । आरोप सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न मिल्दैन, तर आरोपको निष्पक्ष छानबिन गरेर तथ्य सार्वजनिक गर्नु प्रहरीको जिम्मेवारी हो ।

गाँजा नियन्त्रण अभियानमा हजारौँ किलो बरामद भएको तथ्य प्रस्तुत गर्ने प्रहरीले तस्करीको सञ्जाल, त्यसमा संलग्न व्यक्ति र सार्वजनिक आरोपको सत्यताबारे पनि विश्वसनीय अनुसन्धानमार्फत जवाफ दिनुपर्ने देखिन्छ ।